• ११ मंसिर २०८१, मङ्गलबार

ग्रीसका विदेशमन्त्री टर्कीको भ्रमणमा

blog

एथेन्स, माघ २९ गते । गत सोमबारको भूकम्पबाट क्षतविक्षत भएको टर्की सरकार तथा त्यहाँका जनताप्रति ऐक्यबद्धता जनाउन ग्रीसका विदेशमन्त्री निकोस डेन्डिया टर्की भ्रमणमा जानुभएको छ ।

हेलिकोप्टरबाट टर्कीको भूमिमा ओर्लदाँ उहाँलाई टर्कीका समकक्षी मेभलुत काभुसोग्लुले स्वागत गर्नुभयो । लामो समयदेखि दुवै देशबीच प्रतिद्वन्द्विता रहे पनि प्राकृतिक विपत्तिको यो विषम परिस्थितिमा सहयोग गर्न ग्रीसका विदेशमन्त्री टर्की जानुभएको हो । भूकम्प प्रभावित क्षेत्रको पनि उहाँले भ्रमण गर्ने कार्यक्रम छ ।

ग्रीसका विदेशमन्त्री डेन्डिया भूकम्पपछि टर्कीको भ्रमण गर्ने युरोपेली मुलुकको पहिलो मन्त्री हुनुहुन्छ । ग्रीसका उद्धारकर्मीले खोज तथा उद्धारमा सहयोग गरिरहेका अन्टाक्याका केही स्थानमा दुवै देशका मन्त्री पुगेका छन् । ग्रीसले धेरै राहत सामग्री टर्कीलाई उपलब्ध गराएको छ । हालसम्म ग्रीसले ८० टन औषधि तथा प्राथमिक उपचारका सामग्री प्रदान गरिसकेको छ ।

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी  २९ हजार ११७ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीमा २४ हजार ६१७ जनाको ज्यान गएको छ भने सिरियामा चार हजार पाँच सय जना मारिएका छन् । रासस/एएफपी