• २५ वैशाख २०८१, मङ्गलबार

केपी ओली कप : उद्घाटन खेलमा पुलिस र सातदोबाटोबीच भिडन्त

blog

फाइल तस्बिर ।

काठमाडौं, माघ २९ गते । फागुन ११ गतेदेखि सुरु हुने केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुलिस र सातदोवाटो पहिलो खेलमा भिड्ने पक्का भएको हो । उद्घाटन खेल एन्फा मुख्यालय मैदान सातदोबाटोमा हुनेछ ।

फाइनल बाहेक सबै खेल एन्फामा हुने र फाइनल खेल दशरथ रङ्गशालामा हुने आयोजकले जनाएको छ । फागुन १७ गतेसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका सात क्लब र आयोजक केपी ओली एफसीसहित आठ टोलीको सहभागिता रहनेछ ।

‘ए’ डिभिजन क्लबमा मछिन्द्र, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाईटेड, सातदोबाटो युथ र जवलाखेल युथ क्लब छन् । फुटबल खेलको विकासका लागि केपी ओली फुटबल क्लब नै गठन गरी कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरिएको नेकपा एमालेको भ्रातृ संस्था युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार आगामी वर्षदेखि यही क्लबले प्रतियोगिताको आयोजना गर्नेछ । 

प्रतियोगिताको विजेता टोलीलई १० लाख र उपविजेतालाई पाँच लाख रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट विधाका खेलाडी र उदयीमान खेलाडीलाई जनही ५० हजार, प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार र म्यान अफ दि म्याचलाई १५ हजार रुपियाँ प्रदान गरिने बताइएको छ ।