• २० असोज २०८१, आइतबार

सहकारीको प्रभाव मूल्याङ्कन आवश्यक

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, माघ २९ गते ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी अभियानले गरिबी निवारण र आयआर्जनमा सहयोग पु-याउनुपर्ने बताउनुभएको छ । 

पछिल्लो समय सहकारीबारे राम्रा–नराम्रा चर्चा भइरहेको औँल्याउँदै मन्त्री राईले भन्नुभयो, “हामीले सहकारी राम्रो छ भनिरहँदा गाउँगाउँमा सहकारीले नागरिकको जीवनस्तर परिवर्तन आयो कि आएन भनेर मूल्याङ्कन गर्नु जरुरी छ ।”

सहकारी क्षेत्रमा देखिएको समस्या तथा जोखिम व्यवस्थापन सम्बन्धमा छलफल गर्ने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखको जिल्लास्तरीय गोष्ठीमा शनिबार उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । 

जिल्ला सहकारी सङ्घ लिमिटेड र कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेपलाञ्चोकको आयोजनामा एक दिवसीय गोष्ठीको आयोजना गरिएको हो । 

मन्त्री राईले सहकारी अभियानले गरिबी न्यूनीकरण र गरिबको आयआर्जनमा पारेको प्रभावबारे अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी क्षेत्रमा काम गर्ने व्यक्तिले कुरा कम र काम धेरै गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले जिल्ला सहकारी सङ्घ काभ्रेपलाञ्चोकको भवन निर्माणका लागि सरकारले सहयोग गर्ने पनि बताउनुभयो । 

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)का निवर्तमान अध्यक्ष डीबी बस्नेतले वित्तीय सहकारी संस्थामा हाल देखिएको समस्याको समाधानका लागि ब्याजदरलाई स्वचालित बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले बैङ्कले १८ प्रतिशतसम्म ब्याजदर लिइरहँदा सहकारी संस्थालाई १६ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने नियम लागू गरेको भन्दै सहकारीमा पनि ब्याजदर बढ्दा बढाउने र घट्दा घटाउने नियम लागू गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

निवर्तमान अध्यक्ष बस्नेतले एउटा व्यक्तिले कतिवटा सहकारी संस्थाबाट ऋण लिएको छ भन्ने हेर्न कर्जा सूचना केन्द्र र ऋण लैजाने व्यक्तिले ऋण नतिर्दा के गर्ने भन्ने व्यवस्थाका लागि कर्जा न्यायाधिकरण गठन गर्न माग गर्नुभयो । 

उहाँले राष्ट्र बैङ्कले २५ लाख रुपियाँभन्दा बढी रकम सहकारी संस्थामा राख्न नपाउने र बैङ्कमा राख्नुपर्ने नियम लागू गर्न लागेको बताउँदै उक्त कदमले समग्र सहकारी अभियानलाई असर पु-याउने दाबी गर्नुभयो ।

कार्यक्रममा जिल्ला सहकारी सङ्घ लिमिटेडका अध्यक्ष दिलीप शर्माले काभे्र जिल्लामा एक हजार ४९५ वटा सहकारी संस्था रहेको बताउनुभयो । उहाँले जिल्लामा सञ्चालित सहकारी संस्थाको कुल सेयर पुँजी दुई अर्ब ९१ करोड ६० लाख दुई हजार, निक्षेप सङ्कलन २१ अर्ब १३ करोड ३६ लाख ३८ हजार र लगानी २१ अर्ब ३४ करोड ५३ लाख ४१ हजार रुपियाँ रहेको जानकारी दिनुभयो । 

उहाँले सहकारी क्षेत्रले काभ्रेमा एक हजार ३९२ महिला र ८६४ पुरुष गरी कुल दुई हजार २५६ जनालाई प्रत्यक्ष रोजगारी दिएको र सहकारी क्षेत्रमा तीन लाख ८३ हजार १३६ सदस्यको संलग्नता रहेको बताउनुभयो । 

गोष्ठीमा सहकारीको विद्यमान अवस्था र आगामी कार्यदिशाका बारेमा शिवजी सापकोटा, सहकारीमा सङ्कट व्यवस्थापनको विषयमा वल्लभ तिमल्सिना र सहकारी अनुगमन र नियमन विषयमा बलराम निरौलाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।