• १३ साउन २०८१, आइतबार

पुरानै गठबन्धन कायम हुनसक्छ: नेता सिंह

blog

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह । तस्बिर – लीलाधर वली

लीलाधर वली

घोराही, माघ २८ गते । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकको राजनीतिक स्थायित्वका लागि पुरानो राजनीतिक गठबन्धन कायम हुने सङ्केत गर्नुभएको छ ।


मुलुक र जनताको हितका निमित्त राजनीतिक समीकरण फेरबदल भइरहने र अव पनि मुलुकको आवश्यकताअनुसार पुनः राजनीतिक समीकरण बदलिनुलाई स्वाभाविक मान्नुपर्ने नेता सिंहले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकार फेरबदल भएपछि नेता सिंहले यसलाई पुरानै राजनीतिक गठबन्धन कायम हुने सङ्केतका रूपमा चर्चा गर्नुभएको छ ।


‘राजनीतिमा मुलुकको हितका लागि जे हुनुपर्छ, त्यो हुन्छ’, नेपाल प्रेस युनियन दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो ।


नेता सिंहले भन्नुभयो,‘ सुदूरपश्चिम प्रदेश सरकार फेरबदलमा देखिएको राजनीतिक घटनाक्रमले फरक राजनीतिक मोड लिन सक्ने देखिएको छ ।’ नेता सिंहले अहिलेको गठबन्धन दिगो रूपमा जान नसक्ने सङ्केत देखा परिसकेको समेत बताउनुभयो । 


सङ्घीयतालगायतका उपलब्धिहरू कार्यान्वयनसँगै मुलुक र देशको हितका लागि बलियो गठबन्धन आवश्यक भए पनि वर्तमान गठबन्धनमा देखिएको अस्थिरताले लामो समय जान नसक्ने देखाएको बताउनुभयो ।


‘देशमा सङ्घीयता लगायतका उपलब्धि कार्यान्वयनसँगै अहिले देखिएको सङ्कट व्यवस्थापनका लागि बलियो गठबन्धनसहितको सरकार आवश्यक छ’,उहाँले भन्नुभयो,‘तर अहिलेको गठबन्धनमा असन्तुष्टि देखा परिसकेको छ । यो लामो समयसम्म जाने सङ्केत होइन ।’ 


नेपाली कांग्रेस प्रमुख विपक्ष दल भए पनि सरकारका राम्रा कामलाई साथ र सहयोग गर्ने उद्देश्य अनुसार नै प्रधानमन्त्रीलाई विश्वास मत दिएको बताउनुभयो । 


त्यसैगरी, नेता सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधानलाई पूर्ण कार्यान्वयनका लागि दलको इच्छाशक्ति कमजोर हुँदा सङ्घीयताका विषयमा नकारात्मक विचार पैदा हुने स्थिति सिर्जना भएको बताउनुभएको छ  । सङ्घीयता कार्यान्वयनमा दलहरूले चासो कम दिँदा नकारात्मक टिप्पणी भइरहेको उहाँको तर्क थियो । 


‘राजनीतिक परिवर्तनका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएर जारी भएको संविधान पनि सबै दलबाट कार्यान्वयन गर्न लाग्नुपर्छ’, उहाँले भन्नुभयो, ‘पूर्ण रूपमा कार्यान्वयनमै नआउँदै विरोध गर्नु राम्रो होइन । दलहरूले यो विषयमा गम्भीर रूपमा सोच्नुपर्छ ।’ 


मुलुकमा राजनीतिक स्थायित्वका लागि हिजोका दिनमा जसरी सबै दल एक ठाउँमा उभिएर अघि बढेको जस्तै अब देश विकासका लागि, नागरिकको जनजीविका उकास्न दलहरू केन्द्रित हुन आवश्यक रहेको बताउनुभएको थियो ।