मस्को, वैशाख २६ गते । रुस र साउदी अरबका विदेशमन्त्रीले होर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे छलफल गर्नुभएको छ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभ र साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदबिच शुक्रबार टेलिफोन वार्ता भएको रूसी विदेश मन्त्रालयले जनाएको छ । वार्ताका क्रममा दुवै पक्षले क्षेत्रीय तनाव पुनः बढ्न नदिन विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
साथै, दीर्घकालीन र स्थायी समाधानका लागि निरन्तर कूटनीतिक संवाद र आपसी सम्पर्कलाई अघि बढाउन आवश्यक रहेको विषयमा सहमति जनाइएको छ । दुवै मन्त्रीले होर्मुज जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । उहाँहरूले फेब्रुअरीको अन्त्यअघि रहेको स्तरमा जलमार्गको सुरक्षा र सहज सञ्चालन पुनः स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
यसका अतिरिक्त, इरान र अरब मुलुकबिच सम्बन्धलाई दीर्घकालीनरूपमा सामान्य बनाउन कूटनीतिक प्रयास पुनः सक्रिय बनाउनु उपयुक्त हुने विषयमा पनि विचार आदान-प्रदान गरिएको छ । क्षेत्रीय स्थायित्व र आपसी विश्वास मजबुत बनाउन संवाद नै सबैभन्दा प्रभावकारी माध्यम हुनेमा दुवै पक्ष सहमत हुनुभएको छ । रुसले यस प्रक्रियामा आवश्यक परे सबै सरोकारवाला पक्षको हितलाई ध्यानमा राख्दै सहजीकरण गर्न तयार रहेको पुनः स्पष्ट पारेको रूसी विदेश मन्त्रालयले जनाएको छ ।
होर्मुज जलसन्धि विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्तै महत्वपूर्ण रणनीतिक जलमार्ग मानिन्छ । यस क्षेत्रमा हुने कुनै पनि अस्थिरता वा तनावले विश्वव्यापी ऊर्जा बजारमा असर पार्ने भएकाले यसको स्थायित्वप्रति अन्तर्राष्ट्रिय समुदायले विशेष चासो राख्दै आएको छ । रासस/सिन्ह्वा