• ११ मंसिर २०८१, मङ्गलबार

जैविक विविधता संरक्षण

blog

आकाशीय, स्थलीय, जलीय, सामुद्रिक र अन्य क्षेत्रमा रहेका जीवजन्तुहरूको पारिस्थितिक प्रणाली, त्यस भागका रूपमा रहेका जीव र वनस्पतिको सम्बन्ध तथा विविधतालाई नै जैविक विविधता भनी कृषि जैविक विविधता नीति, २०६३ ले परिभाषित गरेको छ । जैविक विविधताले प्राणी, वनस्पति तथा सूक्ष्म जीवात्माको जातीय–प्रजातीय विविधता, आनुवांशिक विविधता तथा पारिस्थितिक प्रणालीको विविधतासमेतलाई जनाउँछ। जैविक विविधता महासन्धि, १९९२ ले पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण जीवजन्तु, वनस्पति र मानवबीचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधता जैविक विविधता भनेको छ। 

यो भौगोलिक तथा पारिस्थितिकीय विविधताको उपजस्वरूप सिर्जित प्रजातिगत तथा आनुवांशिक विविधता हो। यसले पृथ्वीमा भएको सूक्ष्म तथा स्थूल जीव तथा वनस्पतिको समष्टी रूपलाई जनाउँछ र जैविक विविधतालाई अणु वा अनुवंशको सूक्ष्मतम तहदेखि बृहत् पारिस्थितिक तहसम्म अध्ययन गर्न सकिन्छ । वैज्ञानिकले पृथ्वीमा ८७ लाख प्रजाति रहेको अनुमान गरेकोमा हालसम्म १३ लाख प्रजाति पत्ता लागिसकेका छन्। पृथ्वीका हरेक जैविक र अजैविक तत्वहरू एकआपसमा अन्तरसम्बन्धित रहेका हुन्छन्; जसको चक्र प्रणालीबाट प्राणी, वनस्पति तथा सूक्ष्म जीवको अस्तित्व सम्भव रहेको हुन्छ।

यीमध्ये कुनै पनि तत्वमा क्षति पुग्यो वा नासियो भने त्यसको दूरगामी असर समग्र प्राकृतिक प्रणालीमा पर्न जान्छ। पछिल्लो समयमा मानवीय क्रियाकलापका जैविक विविधता नाश हुँदै जाँदा यही सनातन पारिस्थितिकीय चक्रमा असर पर्दै छ । प्राकृतिक स्रोतको अध्यधिक दोहन, बढ्दो सहरीकरण, बाह्य मिचाहा प्रजातिको प्रवेश, भूउपयोगमा परिवर्तन, वन्यजन्तुको वासस्थान तथा वनको विनाश, गैरकानुनी सिकार तथा तस्करी, आगलागी, अत्यधिक चरिचरन, मरुभूमीकरण र प्रदूषणका साथै विश्व उष्णीकरणले सिर्जना गरेको जलवायु परिवर्तनका कारण पृथ्वीको जैविक विविधता सङ्कटमा परिरहेको छ।

जैविक विविधताको महत्व

जैविक विविधता मानव जीवन र अस्तित्वको आधार हो। वास्तवमा जैविक विविधताकै कारण हाम्रो पृथ्वी सजीव ग्रह तथा बस्नयोग्य ग्रह बनेको हो। जैविक विविधताको महìव बहुआयामिक रहेको छ र यो प्रकृतिबाट प्राप्त गर्ने वस्तु तथा सेवाको स्रोत हो । वातावरणीय सन्तुलन, पानीको प्राकृतिक शुद्धीकरण, प्रदूषण नियमन, रासायनिक पदार्थको शोषण, जलचक्रको सन्तुलन, प्राणवायु उत्पादन, कार्बन सञ्चिति, बाढीपहिरो नियन्त्रणजस्ता वातावरणीय प्रणालीका लागि जैविक विविधताको अहम् भूमिका रहन्छ। जैविक विविधता पर्यावरणीय सेवाको एक प्रमुख अङ्ग हो। 

एक तथ्याङ्कअनुसार विश्वमा करिब डेढ अर्ब मानिस आफ्नो जीविकोपार्जनका लागि वनजन्य स्रोतमा आश्रित छन्। यसरी जैविक विविधता जीविकोपार्जन तथा आयआर्जनको मुख्य स्रोतका रूपमा रहेको छ । विभिन्न वनस्पति तथा जीवजन्य उत्पादनबाटै हाम्रा आवश्यकता पूर्ति हुन्छन् । जैविक विविधताबाटै प्राप्त हुने वस्तु र सेवाबाट मानिसका दैनिक जीविकाका साथै वस्तु विनिमय र व्यापार सम्भव भएको हो। विश्व अर्थव्यवस्थाको ४० प्रतिशत र न्यून आय भएका मुलुकका जनताको ८० प्रतिशत आवश्यकता जैविक विविधताजन्य स्रोतबाटै प्राप्त हुने गरेको तथ्याङ्क छ। कृषि उत्पादन, खाद्य सुरक्षा, स्वास्थ्य र पोषण, स्थानीय ज्ञान, सीप तथा संस्कृति, जलस्रोत तथा प्राकृतिक सौन्दर्यजस्ता विषय जैविक विविधतासँगै जोडिएका हुन्छन्। 

हाम्रो मुलुकमा विभिन्न समुदायको वनस्पति र जीवजन्तुसँग सांस्कृतिक सम्बन्धसमेत रहेको र धर्मशास्त्रमा विभिन्न जीवजन्तु र वनस्पतिलाई पवित्र मानेर सम्मान तथा पूजासमेत गरिने भएबाट जैविक विविधतालाई जीवनशैलीकै एक पाटोका रूपमा समेत लिन सकिन्छ । जीव विज्ञान तथा आनुवांशिक अध्ययनबाट रोग निदान गर्ने औषधिको आविष्कार हुने गरेको छ र यसले मानिसको स्वास्थ्यमा सुधार तथा औसत आयुमा वृद्धि भइरहेको छ। आनुवांशिक विविधताले प्रजातिमा रोगसँग लड्ने क्षमताको विकास गर्नुका साथै वातावरणीय परिवर्तनसँग अनुकूलित हुन सहयोग पु-याउँछ। 

जोखिममा जैविक विविधता

एकातिर जलवायु परिवर्तनका कारण प्राणी तथा वनस्पतिका लागि वातावरण प्रतिकूल बनिरहेको छ भने अर्कोतिर बासस्थानको विनाश र प्राकृतिक साधनको दोहनका कारणले जैविक विविधता सङ्कटमा परिरहेको छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गतको जैविक विविधता तथा पर्यावरणसम्बन्धी अन्तरसरकारी विज्ञान–नीति मञ्चको एक रिपोर्टअनुसार रैथाने प्रकारका स्थलजीवका प्रजातिको सङ्ख्यामा सन् १९०० यता कम्तीमा २० प्रतिशतले गिरावट आएको छ भने ४० प्रतिशत उभयचरका साथै एक तिहाइ सामुद्रिक जीवका प्रजाति खतरामा परेका छन्। पृथ्वीमा पत्ता लागेकामध्ये २४ प्रतिशत स्तनधारी र १२ प्रतिशत चराका प्रजाति लोप हुने खतरामा छन्। 

उक्त रिपोर्टअनुसार १६औँ शताब्दीयता पृथ्वीबाट कम्तीमा ६८० ढाड भएका जनावरका प्रजाति लोप भइसकेका छन्। रिपोर्टअनुसार सन् १९७० यता कुनै पनि देशमा प्रवेश गर्ने मिचाहा वनस्पति तथा जीवजन्तुको सङ्ख्या ७० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सन् १९८० यता प्लास्टिक प्रदूषणमा १० गुणाले वृद्धि भएको छ र उद्योगबाट उत्सर्जित ३० देखि ४० करोड टनसम्म धातु, घोलक, विषाक्त लेदो र अन्य फोहोर पदार्थ पानीका स्रोतमा फ्याँकिने गरिएको र कृषि भूमिमा प्रयोग गरिएको रासायनिक मल तथा रसायनले करिब साढे दुई लाख वर्गकिलोमिटर क्षेत्रफल बराबरको सामुद्रिक क्षेत्रलाई मृत बनाइसकेको तथ्य पनि उक्त प्रतिवेदनले उजागर गरेको छ। 

विश्वको तीन चौथाइ स्थलीय वातावरण तथा करिब ६६ प्रतिशत सामुद्रिक वातावरण मानवीय कारणले गर्दा उल्लेख्य रूपमा विकृत भएको अनि पृथ्वीको जमिनको एक तिहाइभन्दा बढी र ताजा पानीका स्रोतमध्ये ७५ प्रतिशतलाई बालीनाली तथा पशु उत्पादनमा प्रयोग गरिएको अवस्थाले प्रकृतिमाथि मानवीय दोहन कतिसम्म बढेको छ भन्ने तथ्यलाई दर्शाएको छ। विज्ञहरूका अनुसार पृथ्वीबाट प्रजातिहरू लोप हुने दर यसको प्राकृतिक दरभन्दा एक हजारदेखि १० हजार गुणासम्म बढी छ। विश्व संरक्षण सङ्घ (आईयूसीएन)ले पृथ्वीमा रहेका साढे १२ हजारभन्दा धेरै प्रजातिलाई लोप हुने खतरामा रहेको सूचीमा राखेको छ। विश्वका पहिचान भएकामध्ये एक तिहाइ प्रजाति लोपोन्मुख अवस्थामा छन्। पृथ्वीमा जैविक विविधताको आधा हिस्सा ओगट्ने वनक्षेत्र बर्सेनि ०.८ प्रतिशतका दरले विनाश भइरहेको र उष्णप्रदेशीय सदावहार जङ्गलको विलोपन दर ४ प्रतिशत रहेको तथ्याङ्क छ।

मानवीय क्रियाकलापका कारण प्रत्येक वर्ष करिब एक प्रतिशत वन्यजन्तु नासिने क्रममा रहेको र विगत तीस वर्षमा मात्रै जमिनमा बस्ने वन्यजन्तुको सङ्ख्या २५ प्रतिशत, सामुद्रिक जीवको सङ्ख्या २८ प्रतिशत तथा ताजा पानीमा पाइने जलचर प्रजातिको सङ्ख्यामा २९ प्रतिशतले कमी आएको लन्डनस्थित जुलोजिकल सोसाइटीको एक रिपोर्टमा उल्लेख छ। जलवायु परिवर्तनका कारण पृथ्वीमा प्राणी तथा वनस्पतिको प्रजनन र उत्पादन क्षमतामा समेत असर परेको छ भने जन्मिने जीवमा वंशाणुजन्य विकार, उत्परिवर्तन तथा विभिन्न खालका रोगको प्रकोप बढ्दै गएको छ। वन्यजन्तु अपराध विश्वमा चौथो ठूलो अपराधका रूपमा खडा भएको छ र यो निकै भयानक सङ्गठित अन्तरदेशीय अपराध वन्यजन्तु तथा जैविक विविधताको अस्तित्वकै लागि प्रश्नचिह्न बनेर खडा भएको छ। 

नेपालको सन्दर्भ

नेपाललाई विश्वकै जीवन्त जैविक विविधताको सङ्ग्रहालय भनिन्छ। विश्व मानचित्रमा भौगोलिक हिसाबले सानो मुलुक रहेको विश्वको कुल भूभागको केवल ०.१ प्रतिशत हिस्सा ओगट्ने भए पनि जैविक विविधताको हिसाबले नेपालले विश्वको करिब ४ प्रतिशत हिस्सा ओगट्छ । जैविक विविधताको हिसाबले नेपाल विश्वमा २५औँ र एसियामा ११औँ स्थानमा पर्दछ भने यहाँ ११८ किसिमका पारिस्थितिक पद्धति पाइन्छन्। सरकारी 

तथ्याङ्कअनुसार विश्वमा पाइने कुल वनस्पति प्रजातिको ३.२ प्रतिशत र कुल प्राणी प्रजातिको १.१ प्रतिशत नेपालमा पाइन्छ। त्यसमध्ये कैयन् प्रजाति स्थानीय प्रजातिका रूपमा रहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशित गरेको जैविक विविधता संरक्षणसम्बन्धी स्रोत पुस्तिकामा उल्लेख भएअनुसार नेपालमा कुल ११ हजार ९७१ प्रजातिका वनस्पति रहेकोमा २९४ प्रजाति रैथाने प्रजातिका रूपमा छन्। त्यस्तै नेपालमा ८९२ जातिका चरा, १८६ प्रजातिका माछा, २०८ प्रजातिका स्तनधारी जीव, ६५१ प्रजातिका पुतली, १७५ प्रजातिका माकुरा, पाँच हजार प्रजातिका कीराफट्याङ्ग्रा, १२३ प्रजातिका सरीसृप, २३० प्रजातिका माछा, चार सय प्रजातिका बहुवर्षीय बाली तथा ६० प्रजातिका जङ्गली खाद्य फलफूल पाइन्छन्।

नेपालमा पाइने जीवजन्तुमध्ये १६० प्रजाति रैथाने छन्। विश्वमा पाइने कुल स्तनधारी प्रजातिमध्ये ५.२ प्रतिशत, चरा प्रजातिमध्ये ९.५ प्रतिशत तथा पुतली प्रजातिमध्ये ३.७ प्रतिशत नेपालमा पाइन्छन् । नेपालमा कुल भूभागको ४४.८ प्रतिशत वनक्षेत्र रहेकोमा कुल ३४ हजार ४२० वर्गकिलोमिटर अर्थात् २३.४ प्रतिशत भूभाग संरक्षित क्षेत्रका रूपमा छ। त्यसका साथै ११ वटा वन संरक्षण क्षेत्र छन् भने वनस्पति प्रजातिहरूको स्वस्थानीय तथा परस्थानीय संरक्षणका लागि ११ वटा वनस्पति उद्यान स्थापना गरिएको छ। त्यस्तै २२ हजार ६८२ वटा सामुदायिक वनले पनि जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। साझेदारी वन, कबुलियती वन तथा धार्मिक वनहरू पनि जैविक विविधताको संरक्षणका लागि महत्वपूर्ण छन्। 

हामीसँग जैविक विविधताको खानी रहे पनि आमजनतामा यसको महìव र संरक्षणका बारेमा पर्याप्त चेतनाको अभाव छ। वन्यजन्तुको चोरीसिकार तथो अवैध व्यापार, संरक्षित क्षेत्र तथा स्थानीय समुदायबीचको द्वन्द्व, मानिस र वन्यजन्तु द्वन्द्व, प्राकृतिक स्रोतको अत्यधिक दोहन, भौतिक पूर्वाधार निर्माणमा चरम वन फँडानी, बढिरहेको सहरीकरण तथा बस्ती विस्तार, कृषि भूमिको विस्तार, प्रदूषण तथा वनक्षेत्रमा अत्यधिक चरीचरनले जैविक विविधतामा चुनौती खडा गरिरहेका छन्। 

अबको दायित्व 

जैविक विविधता हाम्रो जनजीवन र संस्कारसँग पनि अभिन्न सम्बन्ध राख्ने विषय हो। हाम्रा संस्कारले पनि पञ्चमहाभूतका रूपमा प्रकृतिको पूजन गर्ने र विभिन्न जीव तथा वनस्पतिलाई ईश्वरका रूपमा पूजा गर्ने पाठ हामीलाई सिकाएको छ । सम्पूर्ण प्राणी र वनस्पति प्रकृतिका अनुपम सिर्जना मात्र होइनन्, अभिन्न अङ्गसमेत हुन्; जसको अभावमा मानव अस्तित्व सम्भव छैन। त्यसैले वन्यजन्तुको संरक्षणप्रति सबैको साझा चासो, साझेदारी तथा दायित्वबोध आवश्यक छ। जैविक विविधता संरक्षणको सवाल हरेक नागरिकको मुख्य कर्तव्य बन्नुपर्छ भने प्राकृतिक स्रोतमाथि नागरिकको पहिलो अधिकारलाई सुनिश्चित गरिनुपर्छ। प्राकृतिक स्रोत र साधनबाट प्राप्त हुने लाभको पारदर्शी तथा समन्यायिक वितरणमार्फत समुदायलाई जैविक विविधताको संरक्षणप्रति अग्रसर तथा जिम्मवार बनाइनुपर्छ भने प्राकृतिक स्रोत र साधनमाथि जनताको अपनत्व बोधको सिर्जना गर्नुपर्छ।

वन पैदावार र वन्यजन्तुको तस्करी गर्नेहरूलाई कडा सजायको व्यवस्था, मानव–वन्यजन्तु द्वन्द्वको उचित व्यवस्थापनका साथै वन्यजन्तु प्रभावित तथा पीडितलाई पर्याप्त राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्दै प्राकृतिक स्रोतको रक्षा र दिगो उपयोगको जिम्मा संरक्षणकर्ता समुदायले नै पाउनुपर्छ । संरक्षित क्षेत्रले आर्जन गरेको आम्दानी तथा प्राकृतिक स्रोत र त्यसबाट प्राप्त आम्दानीलाई समुदायको आयआर्जन, सामुदायिक विकासलगायतमा लगानी गरिनुपर्छ। जैविक विविधतासम्बन्धी परम्परागत ज्ञानको दस्ताबेजीकरण गर्दै उक्त ज्ञानलाई जैविक विविधताको संरक्षणमा लगाउनुपर्छ। जनसहभागितामा आधारित पर्यावरण संरक्षण, वनजन्य अपराध नियन्त्रण र लाभको समुचित वितरण जैविक विविधताको दिगो संरक्षणका लागि पहिलो सर्त हो। जैविक विविधता संरक्षणको विषयले प्रजाति संरक्षणको सूक्ष्म एकाइदेखि भूपरिधि स्तरको संरक्षणजस्तो बृहत् एकाइसम्म समेट्ने र यसका लागि व्यक्तिगत, सामुदायिक, राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी पहलको आवश्यकता पर्छ।