• १७ कात्तिक २०८१, शनिबार

किन मनाउछौँ पृथ्वी जयन्ती

blog

त्रिभुवनचन्द्र वाग्ले  

बहिनी तथा भाइहरू, तपाईंहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरमा एउटा औंलो ठड्याएको देख्नुभएको होला । यो औँलोले एउटा भन्ने सन्देश दिएको छ । एउटा भनेको एउटा देश भनेको हो । नेपाल पहिला धेरै साना राज्यमा बाँडिएको थियो । यसरी एउटै देश धेरै राज्यमा बाँडिएकाले नेपाल कमजोर भयो । नेपाललाई बाहिरियाले आक्रमण गर्ने खतरा बढ्यो । यस्तो अवस्था देखेपछि बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपालभित्रका ससाना राज्यहरूलाई एकीकरण गरेर एउटै ठूलो देश बनाउने अठोट गर्नुभयो । उहाँले सुरु गर्नुभएको एकीकरण पहललाई उहाँपछिका विभिन्न पुस्ता र व्यक्तिले पनि साथ दिनुभयो । 

पुस २७ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदान सम्झने दिन हो । उहाँको मात्र नभएर छरिएर रहेको नेपाललाई सिङ्गो देश बनाउन योगदान गर्ने अरू सबै पुर्खालाई सम्झना र सम्मान गर्न ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउने गरिएको हो । २०१२ सालदेखि पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ तर यो दिवस राष्ट्र एकीकरण अभियानका सबै वीर योद्धहरूप्रति समर्पित छ ।  

सबै देशले यस्तो राष्ट्रिय दिवस मनाउँछन् । कसैले स्वाधीनता दिवसका रूपमा मनाउँछन् । नेपाल कहिल्यै पनि विदेशीको नियन्त्रणमा परेन । सधैँ स्वतन्त्र र स्वाधीन रह्यो । यसले गर्दा हामीले स्वाधीनता दिवस मनाउनु परेन । हामी पूर्वदेखि पश्चिमसम्म विभिन्न राज्यमा विभाजित भएकाले सबैलाई मिलाउने राजाको सम्झनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो । 

विक्रम संवत् १७७९ पुस २७ गते पिता राजा नरभूपाल शाह र आमा कौशल्यावती देवीबाट पृथ्वीनारायण शाहको जन्म भएको हो । पृथ्वीनारायण शाहले केही महìवपूर्ण विचार नेपालीलाई दिएर जानुभएको छ । उहाँले, “घुस लिन्या र घुस दिन्या दुवै राष्ट्रका शत्रु हुन्” भन्नुभएको छ । घुस लिनेदिने बानीले कुनै पनि देशको हित गर्दैन । यस्तो विचारलाई बहिनी तथा भाइहरूले खुवै विचार गर्नुपर्छ । हाम्रो देशमा पनि घुस लिनेदिने परिपाटी छ भने बहिनी तथा भाइहरूले यसको अन्त्य गर्न पृथ्वीनारायण शाहले जस्तै राष्ट्रिय अभियान चाल्नुपर्छ । राजा पृथ्वीनारायण शाहले हामीलाई दिनुभएको सग्लो देशलाई सिङ्गो देश बनाउने अभिभारा वर्तमान पुस्ताका बहिनी तथा भाइहरूमा छ । 

अर्को कुरा पृथ्वीनारायण शाहले ‘नेपाल दुई ढुङ्गाबीचको तरुल हो’ भन्नुभएको छ । यसको अर्थ नेपाल–भारत र चीनको बीचमा च्यापिएको छ भन्ने मात्र होइन । दुई देशबीच रहेर दुवैसँग मित्र व्यवहार गर्नुपर्छ भनेर सिकाउनुभएको हो । तपाईंहरूको पुस्ताले हाम्रा छिमेकीबीच राम्रो सम्बन्ध बनाउन सक्नु हुन्छ । राजा पृथ्वीनारायणको यो भनाइ नेपालको परराष्ट्र नीतिको मुख्य आधार पनि हो । 

बहिनी तथा भाइहरू, हाम्रो समाजमा मित र मितिनी लगाउने प्रचलन थियो । अहिले यस्तो प्रचलन हराउँदै गएको छ । मित लगाएर आफूलाई बलियो बनाउन सकिने रहेछ । राम्रो मित्रताको सहयोगले ठूलाठूला काम गर्न पनि सजिलो हुन्छ । बडामहाराजधिराज पृथ्वीले नेपाल एकीकरण गर्न भक्तपुरका राजपरिवारसँग मित साइनो लगाउनु भएको थियो  । बहिनी तथा भाइहरूले पनि असल साथी बनाउनुपर्छ । आफू पनि असल साथी बन्नुपर्छ । यस्तै असल साथीबाट असजिला काम पनि सजिलै गर्न सकिन्छ भन्ने उदाहरण पनि राजापृथ्वीले दिनुभएको छ । 

धेरै दुःख गरेर देश एकीकरण गर्नुभएका राजा पृथ्वीले नेपाललाई सबैको साझा फूलबारी हो भन्नुभएको छ । यसको संरक्षण सबै नेपालीले गर्नुपर्छ भन्नुभएको छ । अग्रज पुस्ताबाट देशको संरक्षण हुँदै आएको छ । अब नेपाललाई विश्वमा चिनाउने काम तपाईं बहिनी तथा भाइहरूले गर्नुपर्छ । यो देश सबैको साझा हो । सबैले देशको हितमा काम गर्नुपर्छ । तपार्इंहरूको सफलतामा देशको पनि नाम चल्छ । आफू पनि सफल हुनुहोस् । देशलाई पनि सफल बनाउनुहोस् । यति भएमा हामीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र नेपाल एकीकरण अभियानमा संलग्न वीर पुर्खाको सम्झाना र सम्मान गरेको दिवस सफल भएको ठहर्ने छ ।