काठमाडौं, माघ २६ गते । बच्चा जन्मिएपछि बिस्तारै शारीरिक तथा मानसिक विकाससँगै बौद्धिक विकास हुन्छ । हिँडडुल गर्ने, संवाद गर्ने, सामाजिक अन्तर्क्रिया गर्ने, सामाजिक व्यवहारहरू सिक्दै जाने बच्चाको सामान्य विकासक्रम हो ।
बच्चा समाजमा घुलमिल हुन सक्दैन, साथी बनाउन सकेको छैन, बच्चा एकोहोरो हुने, एउटै खाले काम गरिराख्ने, नयाँ वातावरणमा घुलमिल हुन नसक्ने जस्ता लक्षण देखिएमा अटिजम भएको हुन सक्ने चिकित्सक बताउँछन् ।
कान्ति बालअस्पतालको बाल मनोरोग विभागमा ४० देखि ५० प्रतिशत विकाससम्बन्धी समस्या भएका बालबालिका आउने गर्दछन् । त्यसमा सय जनामा ७ देखि ८ जना बालबालिका अटिजमको लक्षण लिएर आउने अस्पतालले जनाएको छ ।
अटिजम भनेको के हो ?
बाल मनोचिकित्सक डा. उत्कर्ष कार्कीले अटिजम एक प्रकारको न्युरो डेभलोपमेन्ट डिसअर्डर अर्था विकास सम्बन्धी समस्या भएको बत्ताउनुभयो । डा. कार्कीका अनुसार १८ महिनादेखि दुई वर्षसम्म यसका लक्षणहरू देखिने गर्दछन् । यो समस्यालाई ६ वर्ष मुनीका बच्चामा पहिचान गर्नसकिने उहाँ बताउनुहुन्छ ।
सामान्य बच्चामा आँखा जुधाउने, बोल्दा फर्किएर हेर्ने, मान्छे वरिपरि भए/नभएको महसुस गर्ने, अमौखिक हाउभाउ जस्तै वाई वाई, नमस्ते नगर्ने, केही चाहियो भने औँलाले देखाउने र आमाबुबाको मुखतिर हेर्ने गर्छन् ।
उहाँकाअनुसार यस्ता अमौखिक हाउभाउ एक वर्ष देखि डेढ वर्ष भित्र हुनुपर्छ । बच्चाले सोही समय अवधिमा अमौखिक हाउभाउ देखाउँदैनन् । कारण चिकित्सकका अनुसार अटिजम वातावरण र वंशाणुगत कारणले हुने गर्छ ।
पछिल्लो समय मोबाइल, टिभी लामो समयसम्म समय बिताउने बच्चाहरूमा पनि अटिजमका लक्षण देखिने सक्ने डा. कार्की बताउनुहुन्छ ।
गर्भवती अवस्थामा छारेरोग औषधि खाएको छ, मधुमेह भएको छ भने, बच्चा जन्मिदा समय अगावै जन्मियो श्वासप्रश्वास समस्या आएमा बच्चामा इन्फेक्सन भयो भने अटिजमको जोखिम हुन्ने डा. कार्की बताउनुहुन्छ ।
लक्षण अटिजम भएका ९० प्रतिशत बालबालिकामा बोली र भाषाको विकासमा ढिला हुने गर्छ । ६ महिनाको बच्चा यदि हाँसेन, अनुहारमा हेरेन, एक वर्षको उमेरमा बाबा, आमा, मामा भनेन वा, बाइबाई गर्ने, औँलाले देखाएर बताउन सकेन भने र १८ महिनाको उमेरमा एउटा शब्द भन्न सकेन भने र २४ महिनाको उमेरमा दुइटा शब्द जोडेर भन्न सकेन भने अटिजम भएको शङ्का गर्न चिकित्सकको सुझाव छ ।
अटिजम भएका बच्चाहरूलाई देखिने प्रमुख लक्षणहरूमा सामाजिक अन्तर्क्रिया र संवादमा समस्या आउने वा अन्य बच्चाको तुलनामा ढिला हुने र एउटै व्यवहार वा रुचि पटक पटक गर्ने, आफ्नै उमेर समूहको बालबालिकासँग खेल्न वास्ता नगर्ने, एउटै काम पटक पटक गर्ने, हात हल्लाउने, गुड्ने कुरा जस्तै गाडीको पाङ्ग्रा चलाउने, पङ्खा हेरेर टोलाउने, पेन भेट्यो भने पेनलाई घुमाइरहने जस्ता क्रियाकलाप गर्न मन पराउने गर्दछन् ।
यस्ता बच्चामा कुकरको सिठी, गार्डीको हर्नको आवाजले दैनिकीमा नै समस्या निम्त्याएर गर्छ । कुनै अटिजम भएका बच्चा ठूलो आवाजले पनि कुनै फरक गर्दैन । उनीहरूमा खानामा पनि समस्या आउने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यस्ता बच्चाहरूमा खानामा पनि समस्या हुन्छ, कुनै बच्चा गिलो खानेकुरा खानामा समस्या आउँछ, कुनै बच्चा कडा चक्लेट, बिस्कुट, जस्ता कडा खानेकुरा खाँदा समस्या आउने गर्छ ।”
उनीहरू आफ्नै सुरमा खेल्न मन पराउँछन्, एकोहोरो हुने गर्दछन्, उनीहरूले आफ्नो छुटै रुटिन बनाएका हुन्छन् यदि त्यो रुटिनमा अवरोध भएमा उनीहरूलाई निकै गाह्रो हुने भएकाले रुने कराउने, चिच्याउने कराउने गर्दछन् ।
पहिचान
अटिजम अभिभावकसँग कुरा गरेर, बालबालिकाको व्यवहार हेरेर उनीहरूसँग अन्तर्क्रिया गरेर समस्याको पहिचान हुने चिकित्सक बताउँछन् । कति पय बच्चामा मिर्गी हुने, बेहोस हुने, लक्षणहरू देखिने गर्छ यस्ता अवस्थामा सिटी स्क्यान, ब्रेनको तारवाला जाँच गरेर समस्याको पहिचान गर्न सकिन्छ ।
उपचार
आफ्नो बच्चालाई अटिजमको लक्षण देखिएमा तुरुन्त नजिकैको बालरोग विशेषज्ञलाई भेट्न डा कार्कीको सुझाव छ । चिकित्सालाई देखिए पनि निको हुने उपचार विधि नहुने डा. कार्कीको भनाइ छ । चिकित्सकका अनुसार अटिजम भएपछि यसको एउटा मात्र विधि भनेको जति छिटो पहिचान ग¥यो त्यति छिटो यो समस्या सुधार हुने चिकित्सक बताउँछन् ।
उहाँ भन्नुहुन्छ, “यो समस्याको जति छिटो पहिचान भयो त्यति नै छिटो इन्टरभेन्सन गर्दा केही हदसम्म त्यो बालबालिकाको पछाडि भएको सामाजिक विकासलाई समाधान गर्न सकिन्छ ।” समस्यालाई समाधान गर्न थेरापी विधिको प्रयोग गरिन्छ ।
बच्चामा देखिएको समस्याअनुसार स्पीच एण्ड ल्यङ्गोएज, अकुपेशन, व्यवहारिक थेरापी गर्न सकिन्छ । थेरापी मात्रैले समस्या समाधान नहुने हुँदा बालबालिकाहरूसँग कसरी व्यवहार गर्ने, उसमा देखिएका समस्या कसरी समाधान गर्ने, दैनिक क्रियाकलाप जस्तै नमस्ते, वाई वाई, जस्ता भाषा कसरी सिकाउन अभिभावकहरूलाई तालिम दिनुपर्ने डा. कार्कीको तर्क छ ।
उहाँ भन्नुहुन्छ, “थेरापी सेन्टरमा एक पटक सिकाएर मात्रै हुँदैन । थेरापी सेन्टरमा सिकाएको कुरा घरमा आमाबुबाले सिकाउन सकेमा बच्चाको समस्या समाधान हुँदै जान्छ।” यस्तो समस्या भएको धेरै बालबालिकाई निन्द्राको समस्या हुने, कहिलेकाहीँ आफैँलाई टोक्ने, भित्तामा टाउको ठोकाउने जस्ता व्यवहार देखाउने गर्छन् ।
यस्तो व्यवहार नियन्त्रण औषधिको माध्यमबाट गन्नुपर्ने डा. कार्कीको भनाइ छ । डा. कार्कीका अनुसार कनै कुनै अटिजम भएका बालबालिकामा छारे रोगको लक्षण देखिने हुँदा औषधि दिएर नियन्त्रण गर्न सकिन्छ ।
 
                                
                             
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                