• १२ मंसिर २०८१, बुधबार

त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्धार र आधुनिकीकरण गरिँदै

blog

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले पुनर्स्थापना कार्यको अनुगमन गर्नुहुँदै । तस्बिर : नेपाल विद्युत प्राधिकरण

काठमाडौं, माघ २६ गते । नेपाल विद्युत प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ ।

वि.सं.२०२३ सालबाट सञ्चालनमा रहेको विद्युतगृहका उपकरणहरू पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरिएको हो ।

करिब ७५ करोड रुपियाँ अनुमानित लागत रहेको जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत, विद्युत गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणहरूलाई आधुनिक तथा स्वचालित बनाइने छ । करिब चार सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवालाई हटाएर त्यसको पुनर्स्थापनाको काम सुरु गरिएको छ ।


साथै जलाशयको दायाँ किनारतर्फबाट ५० क्युमेक पानी बहाव क्षमताको एक हजार दुई सय मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ । अहिले यही बाइपास नहरमार्फत विद्युत उत्पादन भइरहेको छ । नहर सञ्चालनमा रहेकोले विद्युत उत्पादन बन्द नगरी जलाशयमा भरिहेको माटो, बालुवा निकाल्ने काम जारी छ ।

गत वैशाखबाट सुरु भएको जलाशयको पुनर्स्थापना यही फागुनभित्रमा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । विद्युतगृहलाई स्वचालित बनाउने काम भने एक वर्षभित्रमा सम्पन्न हुने छ । यसका लागि ठेक्का सम्झौता भई केही उपकरणहरु उत्पादनको क्रममा रहेका छन् भने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरु केन्द्रस्थलमा आपूर्ति भइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले पुनर्स्थापना कार्यको अनुगमन भ्रमण गरी तोकिएको समयमा सम्पूर्ण काम सक्न निर्देशन दिएको छ ।


जलाशयको पुनर्स्थापना भएपछि विद्युतगृहलाई विद्युतको माग बढी हुने समय (पिक)मा दैनिक रुपमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिने छ । हिउँदमा पिकिङको लागि पाइपास नहरबाट र जलाशयमा सञ्चित गरिएको पानी प्रयोग गरी विद्युत उत्पादन गर्न सकिने छ ।

वर्षायाममा जलाशयलाई प्रयोगमा नल्याइने, खहरे खोलाहरुबाट आउने लेदोलगायतलाई रोक्न संरचना निर्माण गरिएको हुँदा विगतमा जस्तो बालुवा, माटो भरिन नपाउने उल्लेख गर्दै केन्द्र प्रमुख बाबुराजा महर्जनले यसले गर्दा जलाशयको सञ्चित क्षमता गुम्न नपाउने बताउनुभयो ।

बिदुर नगरपालिकाले जलाशय वरिपरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना तयार गरेको छ ।जलाशयमा डुङ्गा चलाउने, खाली जग्गामा पैदलमार्ग तथा बँगैचा निर्माण गर्नेलगायतका योजना नगरपालिकाको छ ।

भारतीय अनुदानमा त्रिशूली जलविद्युत आयोजनाको निर्माण गरिएको हो । अर्धजलाशययुक्त त्रिशूली जलविद्युत केन्द्रबाट वार्षिक रुपमा १६ करोड ३० लाख युनिट विद्युत उत्पादन हुने गरी डिजाइन गरिएको छ । गत आर्थिक वर्ष (आव) २०७८/७९मा विद्युतगृहबाट १३ करोड ७१ लाख विद्युत उत्पादन भएको थियो । गत आवसम्ममा केन्द्रबाट ५ अर्ब ६९ करोड ३९ लाख युनिट विद्युत उत्पादन भएको छ ।

भारतीय रुपियाँ १४ करोड सहयोगमा निर्माण भएको केन्द्रको सुरुको क्षमता २१ मेगावाट थियो । पछि यसको पुनर्स्थापनामार्फत क्षमता विस्तार गरी २४ मेगावाट पुर्याइएको हो । त्रिशूली जलविद्युत केन्द्रको  क्यास्केडको रुपमा १५ मेगावाटको देवीघाट जलविद्युत केन्द्र पनि सञ्चालित छ ।