अमरराज नहर्की
तनहुँ, माघ २६ गते । विना निवेदन अनुदान प्राप्त भएपछि तनहुँको ऋषिङ्ग गाउँपालिका–१, गैराखुदीका रामबहादुर थापा मगर छक्क पर्नुभएको छ । खबर नगरेर कृषि ज्ञान केन्द्र तनहुँको टोली थापाको घरमै मौरीका घार पुर्याउन आउँदा थापाको परिवार अलमलमा परेको थियो ।
केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धिताल र लेखा अधिकृत विजयकुमार श्रेष्ठले बुधबार घरमै पुर्याउन आउँदा अलमल पर्दै थापाले भन्नुभयो ‘मसँग पैसा छैन लिन सक्दिन फिर्ता लैजानुस् ।’’
केन्द्रको टोली निःशुल्क प्रदान गर्नको लागि ल्याएको हो भने पनि थापा चकित पर्नु भएको थियो । केन्द्रद्वारा अनुदानको कार्यक्रम के छ भन्ने कुराको पहुँचबाट टाढा रहेका थापालाई अनुदानमा मौरीको घार प्रदान गरिएको थियो ।
पैसाको अभावले मुढे घारमा मौरीपालन गर्दै आउनुभएका थापा परिवार अनुदानमा मौरीको घार पाउनु भएपछि थापा खुसी हुनुभयो ।
कृषक थापालाई प्रविधि प्रदर्शन कार्यक्रम अन्तरगत १० वटा आधुनिक मौरी घार हस्तान्तरण गरिएको केन्द्रले जनाएको छ । कृषकको घर दैलोमा जाने क्रममा परम्परागत मुुढाको घारमा मौरीपालन गरिरहेको र अनुदानको तरिकाबारे जानकारी नभएको पाएको चाल पाएपछि थापालाई घरमै पुगेर मौरीको घार हस्तान्तरण गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।
‘‘अधिकांश टाठा बाठा कृषकहरु अनुदानको कार्यक्रमबाट लाभान्वित भएका छन्, साझा कृषकहरु फाइदा पु¥याउने उद्धेश्यले घरदैलोमा जाने क्रममा थापाको लगनशिलतालाई देखेर घरमै पुगेर सहयोग गरका हौँ ।’’ तिवारीले भन्नुभयो ।
बोल्नेले मात्रै हैन बोल्न नसक्ने कृषक पनि लाभान्वित गराउनुपर्छ भन्ने ठानेर ५० हजार मूल्य बराबरको मौरी घार थापालाई प्रदान गरिएको तिवारी बताउनुहुन्छ ।
थापाले ५ वटा मुडाको घारमा मौरीपालन गर्दै आउनुभएको र उहाँलाई आवश्यक आधुनिक सीप प्रदान गरेर जीविकोपार्जनमा मद्दत पु¥याइने केन्द्रले जनाएको छ ।