• २६ वैशाख २०८१, बुधबार

मौलिक परिकार फरक–फरक स्वाद

blog

 सन्तोषी चौधरी (थारु) 

भाइबहिनीहरू हो नमस्कार ! म तपाईंहरूसँग परिचित हुन चाहन्छु । तपाईंहरूले मलाई देख्नुभएको छ ? चिन्नुभएको छ ? मेरो नाम कतै सुन्नुभएको छ ? मलाई चिन्नु हुने र नहुने सबैको नजिक हुन चाहन्छु । म मौलिक परिकार हुँ । योःमरी हुँ । ढिक्री हुँ । बगिया हुँ । भक्का हुँ । म चामलको पिठोबाट बनेको हुन्छु र पानीको बाफले पाकेको हुन्छु । परापूर्वकालदेखि आजसम्म परिकारका रूपमा म नामीदामी छु । म विशेष परिकार भएर होला सहर बजारमा व्यवसायीकरण पनि भएको छु । तपाईंहरूलाई खान मन लागे यस्ता परिकार पाउने होटल रेस्टुरेन्टमा गई खान सक्नुहुन्छ । 

भाइबहिनीहरू ठाउँठाउँको पानी र ठाउँठाउँको वाणी फरक भएझैँ मेरो नाम पनि ठाउँअनुसार फरक छ । नेवार समुदायले मलाई योःमरी भन्छन् । मोरङ्गिया थारूहरूले मलाई भक्का भन्छन् । मध्यपूर्वी थारूहरूले मलाई बगिया भन्छन् भने पश्चिमा थारूहरूले मलाई ढिक्री भन्छन् । मेरो आकारहरू थरीथरीको हुने गर्छ । आकारहरूको नाम पनि फरक–फरक हुन्छन् । बगिया, दाइल बगिया, खजनचिरै, सखारीबखारी, हथिया ढिक्री, दिया ढिक्री, छिटही ढिक्री, बोझा ढिक्री योःमरी आदि । 

चाडपर्वमा, खुसीको उत्सवमा, विशेष भेटघाट, जमघटको अवसरमा तथा कोसेलीका रूपमा मेरो मुख्य काम स्वादिष्ट परिकार बन्नु हो । बालकदेखि वृद्धसम्म सबैले परिकारका रूपमा खान सक्नु हुन्छ । वास्तवमा विशेष चाडपर्वमा जस्तैः दशैँ, तिहार, योःमरी पुन्हि, माघी आदि चाडपर्वमा यस्तो परिकार चोखो राखी पूजा प्रसादीका रूपमा चढाइसकेपछि खाने गर्छन् ।

मौलिक परिकारका रूपमा म गुणैगुणले भरिपूर्ण छु । चिनी रोगी, उच्च रक्तचाप रोगी तथा रोगी निरोगी सबैका लागि कुनै मिसावट नभएको चोखो परिकार हुँ । परिकारका रूपमा जोसुकैका लागि पनि योग्य छु । भाइबहिनी लगायत आमाबुबा सबैमा मेरो अनुरोध छ । योमरी, बगिया, ढिक्री, भक्का आफैँले पकाउन नसके कतै किन्न पाउनुहुन्छ भने किनेरै भए पनि खानुहोस् । पुर्खादेखिको मौलिक परिकार पकाउने र खाने तरिका भावी पुस्तामा हस्तान्तरण गर्नुहोस् । भाइबहिनीहरू, मौलिक परिकार स्वास्थवद्र्धक हुन्छ । यस्ता स्वास्थवद्र्धक परिकारको महìव बुझेर खानेकुराका रूपमा स्वीकार्नुहोस् ।