• २५ वैशाख २०८१, मङ्गलबार

लघुजलविद्युत् योजना विस्थापित हुँदै

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, माघ २६ गते । सिन्धुली जिल्लामा पछिल्लो समय राष्ट्रिय विद्युत् प्रसारण लाइनको विस्तारसँगै लघुजलविद्युत् योजना विस्थापित हुँदै गएका छन्।

नेपाल विद्युत् प्राधिकरण, स्थानीय सरकार र विश्व बैङ्कले जिल्लाका विभिन्न भागमा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारलाई तीव्रता दिएसँगै विगतमा निर्माण गरिएका लघुजलविद्युत् योजना विस्थापित हुँदै गएका हुन्।

कमलामाई नगरपालिका–२ निवासी थलकुमार गौतम उक्त वडामा राष्ट्रिय विद्युत् प्रसारण लाइनको विस्तारसँगै चारवटा लघुजलविद्युत् योजना विस्थापित भएका सुनाउनुहुन्छ। उहाँले भन्नुभयो, “कुनै बेला तीन लघुजलविद्युत् योजना गाउँका लागि भरपर्दो उज्यालो माध्यम बनेका थिए। लघुजलविद्युत्ले टुकी बत्तीलाई खायो, अहिले राष्ट्रिय विद्युत् प्रसारण लाइनले लघुजलविद्युत् खायो।”

लघुजलविद्युत् योजना बेलाबेलामा बिग्रिरहँदा त्यसलाई मर्मत गर्ने भार उपभोक्तालाई थपिने तर राष्ट्रिय विद्युत् प्रसारण लाइन बिग्रेमा तुरुन्तै अर्को निकायले बनाइदिने भएकाले पनि उपभोक्ता राष्ट्रिय विद्युत् प्रसारण लाइनतिर आकर्षित बनेका उहाँको ठम्याइ छ।

उक्त वडामा सञ्चालित चारवटै लघुजलविद्युत् योजनाबाट १३ किलोवाट विद्युत् उत्पादन भई १२८ घरपरिवार लाभान्वित भएका वडा कार्यालयले जनाएको छ। 

कार्यालयका अनुसार कोखेखोला ‘ए’ पेल्ट्रिकसेट योजनाबाट तीन किलोवाट, कोखेखोला ‘बी’ पेल्ट्रिकसेट योजनाबाट दुई किलोवाट, बाथवा पेल्ट्रिकसेट योजनाबाट तीन किलोवाट र सरस्वतीखोला पेल्ट्रिकसेट योजनाबाट पाँच किलोवाट विद्युत् उत्पादन गरी गाउँ झिलिमिली बनाइएको थियो।

ग्रामीण क्षेत्रका झन्डै एक दर्जनभन्दा बढी ठाउँ लघुजलविद्युत् योजनाबाट उत्पादित विद्युत्बाट झलमल्ल भएका छन्। बाहुनतिल्पुङ, भद्रकाली, पोखरी, लाम्पन्टार, खाङ्साङ, बालाजोर, शीतलपाटी, पीपलमाढी, रत्नावती, खोलागाउँ र शान्तेश्वरीलगायतका ठाउँमा यी लघुजलविद्युत् योजना निर्माण भएको छ।

राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न नसकेको ग्रामीण क्षेत्रमा उपभोक्ताले दातृसंस्था खोज्दै स्थानीय खोलामा बगेर त्यसै खेर गएको पानीबाट विद्युत् निकाली गाउँलाई नै झलमल बनाएका थिए। स्थानीय उपभोक्ताबाट नगद सङ्कलन, गाउँपालिका र अन्य निकायबाट आर्थिक स्रोत जुटाएर त्यस क्षेत्रमा निर्माण गरिएको डेढ दर्जनभन्दा बढी लघुजलविद्युत् योजना अहिले धमाधम बन्द हुँदै गएको स्थानीयको भनाइ छ।

तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगर पनि गाउँमा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारसँगै कन्यखोला लघुजलविद्युत् योजना बन्द भएको बताउनुहुन्छ। विश्व बैङ्कको सहयोगमा अहिले गाउँपालिकाको ११ वटै वडामा विद्युत् विस्तारले तीव्रता पाएको उहाँले जानकारी दिनुभयो।

नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रका अनुसार यो वर्ष जिल्लाका विभिन्न भागमा उक्त केन्द्रअन्तर्गत एक करोड ४१ लाख रुपियाँ लागतमा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार भइरहेको छ । जिल्लाका ५८ हजार घरधुरीमध्ये अहिलेसम्म ५१ हजार १५० घरधुरीमा विद्युत् पुगिसकेको छ। 

आगामी दुई वर्षभित्रमा सिन्धुली जिल्लाका सबै घरधुरीमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पु-याउने योजनासहित काम भइरहेको जानकारी दिँदै केन्द्रका प्राविधिक लालबहादुर लामाले विद्युत् प्राधिकरणबाहेक विश्व बैङ्क र स्थानीय सरकारले पनि विद्युत् लाइन विस्तार गरिरहेको बताउनुभयो।

राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारसँगै लघुजलविद्युत् योजना विस्थापित हुँदै गएको उहाँको पनि भनाइ छ।