• १३ साउन २०८१, आइतबार

नेपाल कम्युनिष्ट पार्टीले अब जनताको नेतृत्व गर्छ : विप्लव

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द । तस्बिर : सुजन गुरुङ

काठमाडौं, माघ २५ गते। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गर्नुभएको छ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले विदेशीको निर्देशनमा नेपालका अर्थतन्त्र निर्माण हुने गरेको दाबी गर्नुभएको हो। 

उहाँले नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा गइरहेको बताउनुभयो। महासचिव चन्दले नव उदारवादी नीतिको कारणले नेपालको अर्थतन्त्रलाई टाट पल्टाउने र मुठीभर विदेशी एकाधिकार पुँजीपतिले नेपालमा भएको अर्थतन्त्रमा कब्जा जमाउने परिस्थितिको अन्त्य हुन आवश्यक रहेको बताउनुभयो। उहाँले देशभित्रै केही गर्छु भन्ने मध्यम वर्गीय उद्योग व्यवसायी आत्मदाह गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको र राष्ट्रिय उद्योगीसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति बनेको बताउनुभयो। 

उहाँले  थोरै मानिसले अर्थतन्त्र अधीनमा राखेर अधिकांश जनतालाई गरिबीतिर धकेल्ने विप्रेषण बढेको बताउनुभयो। महासचिव चन्दले नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवाद भित्र लैजानका लागि रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो। 

महासचिव चन्दले आफ्नो पार्टीले देशको जिम्मा लिनेगरी अघि बढ्ने बताउनुभयो। उहाँले नेपाली जनताले चाहेको सपनालाई साकार बनाउन आफ्नो पार्टी लागिरहेको बताउँदै पार्टी आगामी दिनमा जनतामा जाने र जनताको नेतृत्व गर्ने दाबी गर्नुभयो। उहाँले नेपाल कम्युनिष्ट पार्टीलाई जनआधारित पार्टी बनाउनुपर्ने भन्दै कम्युनिष्ट आन्दोलनलाई कसरी एकताबद्ध गरी परिवर्तनको संवाहकका रूपमा पार्टीलाई उभ्याउने बताउनुभयो। उहाँले विचार मिल्ने र मुद्दा मिल्ने कम्युनिष्ट पार्टीसँग सहकार्य हुने पनि स्पष्ट पार्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘यो पार्टीले देशको जिम्मा लिनेगरी सोच्नुपर्छ। नेपाली जनताले जे सपना जे चाहना राख्छन्, त्यसको नेतृत्व हामीले गर्नुपर्छ। पार्टी जनतामा जानुपर्छ, जनताको नेतृत्व गर्नुपर्छ। जन आधारित पार्टी निर्माण गर्नुपर्छ। जन आधारित नेता र कार्यकर्ता बनाउनुपर्छ। कम्युनिष्ट आन्दोलनलाई कसरी एकताबद्ध गर्ने, कसरी रूपान्तरण र परिवर्तनको पक्षमा लिएर जाने ? त्यो विषयमा पनि हामीले छलफल गरेका छौँ। हाम्रो निष्कर्ष विचार मिल्ने साथीहरूसँग, पार्टीसँग हामी एकता गर्नुपर्छ, मुद्दा मिलने कम्युनिष्ट पार्टीसँग सहकार्य गर्नुपर्छ। यही व्यवस्थाभित्र घुमेर होइन, यसको समाधान वैज्ञानिक समाजवादमा खोज्नुपर्छ।’’

महासचिव चन्दले नेकपा माओवादीले लडेर ल्याएको जनयुद्धको फल कांग्रेसले कुर्सीमा उपरखुट्टी लगाएर खाइरहेको बताउनुभयो।