• ११ मंसिर २०८१, मङ्गलबार

टर्की भूकम्प: नौ हजार पाँच सयभन्दा बढीको मृत्यु

blog

इस्तानबुल, माघ २५ गते । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ ।

हालसम्म टर्कीमा सात हजार एक सय आठ सय र सिरियामा दुई हजार चार सय ७० जनाले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीहरूले बताएका छन् । टर्कीमा मात्र ४० हजारभन्दा बढी घाइते भएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् ।

करिब छ हजार भवन भत्केकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन् । उद्धार तथा राहतको अनुगमन एवम् समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् । भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीन महिने आपत्काल घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय समुदायले टर्की र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ । बेलायतका नवनियुक्त सत्तारुढ कञ्जरवेटिभ पार्टीका अध्यक्षले टर्कीको अनुरोधअनुसार थप सहायता उपलब्ध गराउने बताएका छन् । युरोपेली सङ्घ, रुसी महासङ्घ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रिस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अष्ट्रेलियाले पनि आफ्नो सामर्थ्यअनुसार आर्थिक एवम् भौतिक सहायता उपलब्ध गराएका छन् । इजरायल, चीन र भारतले चिकित्सक, इन्जिनियर र भारी उपकरणका साथ उद्धारकर्मी परिचालन गरेका छन् । रासस/सन्ह्वा/एपी

यो पनि पढ्नुहोस