• १० मंसिर २०८१, सोमबार

उपप्रधानमन्त्री पौडेल र युएसएआईडी प्रमुख सामन्थाबीच भेट

blog

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गर्नुहुँदै अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, माघ २५ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।

बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गर्नुभएको हो । भेटका क्रममा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिनुभएको छ ।

उहाँले यसअघि मङ्गलबार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गर्नुभएको थियो । दुईदिने नेपाल भ्रमणमा मङ्गलबार काठमाडौं आइपुग्नुभएकी उहाँ आज (बुधबार) राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


स्वदेश फर्किनुअघि आजै साँझ ५ बजे उहाँले पत्रकार सम्मेलन गर्नुहुनेछ । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आउनुभएको थियो । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहनुभएकी उहाँ अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुनुहुन्छ ।