काठमाडौं, माघ २४ गते । हरेक वर्ष फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा बैठक बसेको छ ।
दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले विभिन्न कार्यक्रमको बारेमा छलफल गर्नेछ ।
नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट जहानियाँ निरङ्कुश राणाशासनको अन्त्य गर्दै लोकतन्त्रको प्रक्रियामा अघि बढेको ऐतिहासिक दिन फागुन ७ गते हो ।
आधुनिक नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व छ । २००७ सालको सङ्घर्षबाट नै मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ राणाशासन अन्त्य भई प्रजातान्त्रिक राजनीतिक र संवैधानिक व्यवस्थाको प्रारम्भ भएको थियो ।
यही सङ्घर्षबाट नै नेपाली जनता रैतीबाट सार्वभौम नागरिक बन्ने बाटो प्रशस्त भएको हो । यस अर्थमा नेपालको आधुनिकतातर्फको ढोका पनि यही परिवर्तनबाट खुलेको हो ।
यति भएर पनि परिवर्तनका उपलब्धिहरु संस्थागत हुन नपाउँदै २०१७ सालको प्रतिगामी कदमबाट शिशु प्रजातन्त्रको विकासमा गत्यवरोध पैदा भयो ।
जनअधिकार पुनः प्राप्तिका लागि नेपाली जनताले पटक पटक सशस्त्र सङ्घर्ष र आन्दोलनहरु गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भयो । जनआन्दोलनमा गरेको बलिदानको परिणामस्वरुप प्राप्त उपलब्धिका कारणले अहिले देशमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितासहितको नयाँ संविधान निर्माण भएको छ ।