• ४ पुस २०८१, बिहिबार

एसईईमा करिब तीन हजार विद्यार्थी सहभागी हुँदै

blog

बाजुरा समाचारदाता

बाजुरा, माघ २४ गते ।  बाजुराबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा तीन हजार ३६४ विद्यार्थी सहभागी हुँदै छन्। परीक्षाका लागि आवश्यक हाजिरी पु-याएका नियमिततर्फ तीन हजार ८९, ग्रेड वृद्धिमा १५० र प्राविधिक धारका १२५ विद्यार्थी परीक्षा दिँदै छन्।

परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको ७५ प्रतिशत हाजिरी हुनुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ। शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख हर्कबहादुर सिंहका अनुसार, बाजुराका तीनवटा विद्यालयमध्ये भानोदय माविमा पुश विज्ञान, दशरथ र कीर्तिचौर माविमा बाली विज्ञान विषयको पठनपाठन भइरहेको छ। बाजुराका तीनवटा माध्यमिक विद्यालयले मात्र कक्षा ९ र १० मा प्राविधिक कक्षा सञ्चालन पनि गर्दा प्राविधिकतर्फ विद्यार्थीको सङ्ख्या न्यून रहेको बताउनुभयो। 

परीक्षा सञ्चालनका लागि गत वर्ष १५ वटा केन्द्र निर्माण गरिएको थियो। यो वर्ष पनि त्यही सङ्ख्यामा परीक्षा केन्द्र कायम रहनेछ। राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैत १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरिसकेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सिंहले जानकारी दिनुभयो।

छात्रालाई निःशुल्क प्याड 

बाजुरा समाचारदाता बूढीगङ्गा नगरपालिका–१, धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई शौचालयमै प्याड उपलब्ध हुन थालेको छ। विद्यालयले छात्रालाई महिनावारी भएको समय सहज हुने गरी प्याडको व्यवस्था गरेको हो। बूढीगङ्गा नगरपालिका–१ की रिनु भण्डारीले, विद्यालको शौचालयमै निःशुल्क प्याड पाइने गरेपछि महिनावारी भएको समय निकै सहज भएको बताउनुभयो। उहाँले प्याड नहुँदा विद्यालयमा जान पनि समस्या हुने गरेको दिन स्मरण गर्दै भन्नुभयो, “अहिले विद्यालयमै प्याड पाउँदा नियमित विद्यालय जान सक्ने अवस्था भएको छ।”

२०७८ साल फागुनमा गुडनेर्वसले धुरालसैन माविमा अध्ययनरत छात्राको महिनावारी भएको समयमा सहज हुने गरेर चारकोठे छात्रा मैत्री शौचालय निर्माण गरेको थियो। धुरालसैन माविका प्रधानाध्यापक महासिंह थापाका अनुसार महिनावारी भएको बेला विद्यालय नआउने छात्रा पनि शौचालयमै प्याड उपलब्ध भएपछि विद्यालय नियमित आइरहेको बताउनुभयो। झन्डै चार सयभन्दा बढी विद्यार्थीमध्ये २६० भन्दाबढी छात्रा विद्यालयमा अध्ययनरत छन्।