• १२ मंसिर २०८१, बुधबार

सुर्खेतका सरकारी जग्गामा व्यक्तिको रजाइँ

blog

नवीन सुबेदी

सुर्खेत,माघ २३ गते । वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँहरू वर्षात् होस् या हिउँदको समयमा सामान्य वर्षाका कारण पनि डुबानमा पर्ने गरेका छन् । पछिल्लो समय नगर क्षेत्रभित्र रहेका प्राकृतिक पानीको निकास मासिँदा डुबानको समस्या आएको हो ।

नगर क्षेत्रको उत्तरी जलाधार क्षेत्रदेखि दक्षिण निकास खोला र पूर्व धुलियाविटदेखि पश्चिम बाङ्गेसिमल क्षेत्रमा करिब ३७२ वटा पानी बग्ने नालाहरु रहेको नापी कार्यालय सुर्खेतले जनाएको छ, । नेवारे खोला, इत्राम खोला, खोर्के खोला र रेडियो नेपाल खोला आदि वीरेन्द्रनगरका मुख्य खोलाहरू हुन् ।

वर्षाको औसत हेर्ने हो भने वीरेन्द्रनगरमा पानीको सहज निकासका लागि २० मिटरभन्दा फराकिला खोला आवश्यक पर्ने विज्ञहरूको भनाइ छ । तर, यी खोलाहरू पनि मासिँदै मापदण्डभन्दा कमका भएका छन् । सरकारले पानीको निकासका लागि छुट्टाएको नालाहरू कोही व्यक्तिले हडपेका छन् भने, केहीमा सडक बनेका छन् । जसले वीरेन्द्रनगर उपत्यका बिस्तारै डुबानको दलदलमा फस्दै गएको छ । पानीको सहज निकास नहुँदा सामान्य वर्षा हुँदा पानी खोला तिर नभई बस्ती र सडकमा बग्ने समस्या धेरै छ । 

गुरुयोजना विपरीत भौतिक संरचना निर्माणको क्रमले पनि थप चुनौती थपिँदै गएको छ । डुबान हुनबाट वीरेन्द्रनगरलाई जोगाउन व्यक्ति तथा सडकका नाममा हडपिएका प्राकृतिक नाला खोलिए मात्र डुबानको दीर्घकालीन समस्या समाधान हुने वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख देवकुमार सुवेदीले बताउनुभयो । ‘ वीरेन्द्रनगरलाई पानीजन्य विपद्बाट जोगाउने नै हो भने व्यक्तिबाट मिचिएका नालाहरू खोलिनुपर्छ । सुवेदी भन्नुभयो, ‘झट्ट हेर्दा यो असम्भव देखिए पनि दीर्घकालीन समस्या समाधानको उपाय भनेकै यही हो । यसका लागि नगरवासीको पनि सहयोग हुनुपर्ने सुवेदीको भनाई छ ।

नापी कार्यालय सुर्खेतको तथ्याङ्क हेर्ने हो भने नगर क्षेत्रभित्र रहेका खोलाहरूबाहेक अधिकांश खोल्सा, कुलो, नाला, मुलपानी लगायत ३७२ वटा पानीका भूमिगत निकासहरूमा कहीँ सडक बनेका छन्, भने कतै विद्यालय तथा व्यक्तिका नामका पक्की भौतिक संरचना बनेका छन् । साबिक जर्बुटा गाविस अन्तर्गतका वडाहरूमा ३५ वटा पानीका निकास छन् । तर, यी निकास केही बाहेक प्राय मासिएका छन् । यस्तै साबिक कट कुवा गाविस क्षेत्रमा ४४, साबिक गोठिकाँडा गाविसमा ४७, बयलकाँडा ४९ र साबिक लाटीकोइली क्षेत्रमा सबैभन्दा धेरै १ सय ७९ वटा पानीका निकासहरू  छन् । 

नगर व्यवस्थापनको जिम्मा पाएको सुर्खेत उपत्यका नगर विकास समितिले विभिन्न समयमा पानी बग्ने निकासहरूको तथ्याङ्क लिने गरेको छ । तर, मासिएका निकास नगर विकासको नाममा फिर्ता गराउन भने सकेको छैन । वीरेन्द्रनगरलाई व्यवस्थित सहरमा रूपान्तरण गर्न गुरुयोजना निर्माण गरी लागु गर्ने कुरा उठ्छ तर, गुरुयोजना भने अहिलेसम्म बन्न सकेको छैन । करिब ४२ वर्ष अगाडि तत्कालीन स्व.राजा वीरेन्द्रले वीरेन्द्रनगरको गुरुयोजना बनाउन लगाउनुभएको थियो । त्यस यता वीरेन्द्रनगरको गुरुयोजना बन्न सकेको छैन ।