• १३ साउन २०८१, आइतबार

आत्महत्याको मुख्य कारण ‘डिप्रेशन’

blog

जिल्ला प्रहरी कार्यालय गुल्मी। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, माघ २२ गते। गुल्मीमा पछिल्लो छ महिनामा ३८ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्क अनुसार साउनदेखि हालसम्म झुण्डिएर, विष खाएर, खोलामा हाम फालेर आत्महत्या गरेको देखिएको छ। 

यो अवधिमा झुण्डिएर ३३ जना, विष खाएर दुई जना, खोलामा हाम फालेर दुई जना र दुरुत्साहन एक गरेर कुल ३८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ। आत्महत्या गर्नेमा कम्तीमा १४ वर्षदेखि बढीमा ८६ वर्ष उमेरका व्यक्ति छन्। 

आत्महत्याका कारणमा डिप्रेसनको समस्या देखिने गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो। “आत्महत्या गर्ने प्रायः केही समय पहिले डिप्रेसनमा गएको देखिन्छ”, उहाँले भन्नुभयो, “धेरै समस्याका कारण डिप्रेसनमा जाने अनि मृत्युको बाटो रोज्ने गरेको अनुसन्धानबाट खुलेको छ।” 

आर्थिक विपन्नता, पारिवारिक कलह, पटक–पटकको असफलता, मदिरा सेवन गर्नु, लागूऔषधको लतमा फस्नु र केही गर्न सक्दिनँ भन्ने हीनताबोध हुँदा अधिकांश मानिस डिप्रेसनमा गएको देखिन्छ। 

गुल्मीमा आर्थिक वर्ष २०७७/०७८ मा कुल ९६ जनाले आत्महत्या गरेका थिए। त्यस्तै २०७८/०७९ मा ७१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।