• १३ असोज २०८१, आइतबार

नयाँ सांसदहरुबाट जनताले खुशी पाएनन्ः सांसद गुरुङ

blog

नेपाली कांग्रेसका सांसद धनराज गुरुङ । फाइल तस्बिर

काठमाडौं, माघ २२ गते । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले देश गम्भीर आर्थिक सङ्कटतर्फ उन्मुख रहेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै सांसद गुरुङले यस्तो बताउनुभएको हो ।

उहाँले नेताहरु ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै उहाँले अझै नेताहरु नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने बताउनुभयो । उहाँले आँखा अघि नै व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरु आफ्नै स्वार्थमा लागिपरेको जानकारी दिनुभयो । सांसद गुरुङले जनताको स्वार्थभन्दा मन्त्रीहरु पुरानो गाडी परिवर्तन गर्नुहोस् भन्नेतर्फ लागिपरेको आरोप लगाउनुभयो । देश गफले मात्रै चल्न नसक्ने भन्दै संसद जनताप्रति उत्तरदायी हुनुपर्ने धारणा सांसद गुरुङले राख्नुभयो । संसद नीति निर्माणभन्दा पनि घोचपेचमा नै सकिँदै गइरहेको पनि उहाँले बताउनुभयो ।

‘‘मुलुक भयानक आर्थिक सङ्कटतर्फ उन्मुख छ । हामीले ठूला सपना मात्रै बाँडिरहेका छौँ । त्यो बाँड्दै गर्दा पनि हाम्रै आँखा अघि व्यवसायीहरु धरापमा परेको देखिरहेका छौँ, आत्महत्या त धेरैले गरिसकेका छन् । आत्मदाह आफ्नै अघि गरिरहेका छन्, यसले पनि छुँदैन कि के हो, दिउँसै आत्मदाह भएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘व्यवसायीमा कोलाहाल मच्चिरहेको छ, तैपनि सरकारमा बस्ने मन्त्रीहरु पुरानो गाडी भयो नयाँ गाडी पाउँ भनेर निवेदन गरिरहेको छ । हामी यस्तो विडम्बना भोगिरहेका छौँ । सपना बाँडेर, गफ गरेर मात्रै हुँदैन, संसद् संसद् नै हो, सार्वभौम जनताको सत्ता हो, यसमै घोचपेचका मात्रै कुरा हुन्छ । हामी नेताहरु गफ मात्रै गरिरहन्छौँ, काम गर्दैनौँ । देश अधोगतितिर उन्मुख छ ।’’

सांसद गुरुङले मन्त्री र प्रधानमन्त्री पदकै लागि नेताहरु पटकपटक लडिरहेको बताउनुभयो । यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित भए पनि नयाँ प्रतिनिधि सभा सदस्यहरु पनि पुरानै नेतासरह सत्तामा लिप्त भएको उहाँको भनाइ छ ।