• १२ मंसिर २०८१, बुधबार

खान, बस्न र पढ्न सुविधा पाएपछि असहाय बालबालिका खुसी

blog

समता विद्यालयमा अध्ययन गर्दै गरेका बालबालिकाहरु । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ २२ गते । तनहुँको एक पालिकाले निःशुल्क खाना, बस्न र पढ्न सुविधा प्रदान गरेपछि असहाय बालबालिका खुसी भएका छन् । पढ्ने अवसरबाट वञ्चित भएका ती बालबालिकालाई व्यास नगरपालिकाले समता विद्यालय सञ्चालन गरेर ज्ञान आर्जन गर्ने अवसरमा दिएकोले खुसी भएका हुन् । 

अभिभावकीय दायित्व नगरपालिकाले लिएर ती बालबालिकाको चौतर्फी विकासको लागि विद्यालय सञ्चालनमा ल्याइएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । सहाराविहीन भएका कतिपय बालबालिका सडकमा भौँतारिएर हिँड्ने गरेकोले पढ्ने, लेख्ने अधिकारबाट वञ्चित हुने तथा कुपोषण हुने गरेकोले व्यास नगर समता विद्यालय सञ्चालनमा ल्याइएको नगर  प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

 ‘बालबालिकाको हेरचाह, स्याहार संहार तथा आधारभूत अधिकार उपयोग र संरक्षण गर्न सञ्चालन गरेका हौ’ नगरप्रमुख न्यौपानेले भन्नुभयो ।  विद्यालय सञ्चालनमा आए पछि अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकाहरू अध्ययन गर्न  पाएका छन् । उक्त विद्यालयको भौतिक संरचना र शैक्षिक क्षेत्रको विकासका लागि गत वर्ष एक करोड रुपियाँ विनियोजित गरिएको जानकारी नगर प्रमुख न्यौपानेले बताउनुभयो । विद्यालयको भवन, कम्पाउन्ड, गार्ड र केही शिक्षकहरूको व्यवस्थापनका लागि सो रकम विनियोजन गरिएको उहाँले बताउनुभयो ।

कम्माउण्ड, बगैंचासहित व्यास नगरपालिकाकै नमुना विद्यालयको रूपमा रहेको समता विद्यालयमा असहाय बालबालिकाहरूले शिक्षा आर्जन गरिरहेका छन् । नगरपालिकाले अहिले स्कुलमै बस्ने, खाने, पढ्ने र सुन्नेसहितको व्यवस्था गरेपछि निकै खुसी लागेको कक्षा ५ अध्ययन गर्ने विवेक परियार बताउनुहुन्छ  । शिक्षाबाट वञ्चित बालबालिकाका लागि यो विद्यालय खुलेकोले अब यहाँका बालबालिका शिक्षा क्षेत्रबाट वञ्चित नहुने अवस्था आएकोले स्थानीयमा खुसी छाएको वडा नम्बर ७ का निवर्तमान वडाध्यक्ष सतीशचन्द्र न्यौपानेले बताउनुभयो ।  

विद्यालयमा पढाउने समय तालिका त छँदैछ, त्योभन्दा बाहेक उनीहरूलाई अनुशासित र लगनशील बनाउन गरिने क्रियाकलापहरू समेत त्यति नै प्रभावकारी छ । उनीहरूलाई खाजा खान र बस्ने सुत्ने व्यवस्था पनि त्यति नै व्यवस्थित गरिएको छ । उक्त विद्यालयमा जाने जो कोहीलाई पनि विद्यार्थीको बोली वचन र व्यवहारले मोहित गराउँदै आएको छ ।

४४ जना विद्यार्थीमध्ये ४१ जना आवासमै बस्ने र ३ जना बाहिरबाट आउने जाने गर्दै आएको विद्यालयले जनाएको छ । विद्यालयमा छात्रावास, भान्सा घर, पठनपाठन गर्ने कोठा, सफा र चिटिक्क परेका छन् । कक्षा २ मा पढ्दै आएका भीमबहादुर खड्काले विद्यालयको वातावरण अत्यन्तै राम्रो रहेकोले खुसी लागेको बताउनुभयो । खड्का जस्तै  व्यास नगरपालिका ७ का बाबुआमा नभएका भक्त दरै र उनकी बहिनी गायत्री दरै पढ्न पाएकोमा निकै खुसी हुनुहुन्छ । हजुरआमा प्यारालाइसिस भएपछि बाटोमा माग्दै हिँड्ने गरेका सुशीला परियार समता विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्नुभएको छ ।