• २० वैशाख २०८१, बिहिबार

पढाइबाहेक के गर्ने ?

blog

विद्यार्थीको सबभन्दा ठूलो काम पढ्नु र लेख्नु हो । त्यसैले जसले मेहनत गरेर पढ्छ, लेख्छ उसको भविष्य उज्ज्वल हुन्छ तर हामी विद्यार्थीले यो पनि बिर्सनु हुँदैन कि अहिलेको समय प्रतिस्पर्धाको समय हो । त्यसैले पढाइ, लेखाइबाहेक अन्य कुरामा जो अगाडि हुन्छ, उसले धेरै अवसर पाउँछ । साथीहरूले बुझिहाल्नु भयो होला, पढाइबाहेक अन्य कुरा भनेको अतिरिक्त क्रियाकलाप हो । अतिरिक्त क्रियाकलाप थरीथरीका हुन्छन् । आफ्नो रुचि र क्षमता जेमा छ, त्यसमै संलग्न हुने हो । फेरि अतिरिक्त क्रियाकलापमा भाग लिँदा पढाइ बिग्रँदैन, झन् राम्रो पो हुन्छ । आपूmले समय मात्र मिलाउन सक्नु पर्छ ।   

अतिरिक्त क्रियाकलापमा गीत, सङ्गीत, नृत्य, खेलकुद, कला आदि पर्छन् । जसको स्वर राम्रो छ, उसले गीत गाउनुपर्छ । मादल, गितार, पियानो आदि बाजा बजाउने रुचि हुनेले सङ्गीत रोज्नु पर्छ । नाच्न सोख हुनेले नाच्नुपर्छ । फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन आदि खेल्न मन लाग्नेले खेलकुद रोज्नुपर्छ । यसैगरी, चित्र बनाउन, अभिनय  गर्न रुचि भए यसैमा संलग्न हुनुपर्छ । यस्ता कुनै न कुनै विधामा हामीले विशेष रुचि राख्नुपर्छ । केही प्रतिभा छैन भने खेलकुदमा भने पनि भाग लिनुपर्छ । खेल खेल्न त जाँगर भए पनि पुग्छ नि, होइन त । फेरि खेलकुदले शारीरिक, मानसिक विकासमा पनि सहयोग पु¥याउँछ । राम्रो खेलाडी बन्न सके त देशमा मात्र होइन, विदेशमा नाम कमाउन सकिन्छ । आफ्नो मात्र होइन, देशकै नाम पनि चिनाउन सकिन्छ । 

विद्यार्थीका लागि अतिरिक्त क्रियाकलापले यति धेरै फाइदा हुने भएकाले म पनि यस्ता केही क्रियाकलापमा भाग लिन्छु । म कला, नृत्य, गीतजस्ता धेरैजसो प्रतियोगितामा भाग लिइरहन्छु । यस्तै वादविवाद, क्विज, स्पेलिङ आदि प्रतियोगितामा भाग लिएर पुरस्कार पनि प्राप्त गरेकी छु । वादविवाद र क्विजमा तेस्रो स्थान प्राप्त गर्न सफल भएकी छु भने स्पेलिङ कन्टेस्टमा दोस्रो स्थान प्राप्त गरेकी छु । मैले तीन महिनाअघि नेपाल किड्स आइकन–२०२२ मा पनि भाग लिएको थिएँ । यस प्रतियोगितामा प्रथम स्थान नै प्राप्त गरेर म नेपाल किड्स आइकन ११औँ सिजनको टाइटल विजेता बनेँ । यस्ता प्रतियोगिताले मेरो आत्मविश्वास बढाएको छ । नयाँ साथीहरू बनेका छन् । नयाँ कुरा पनि सिक्न पाएकी छु । 

यसैगरी भाषा सिक्नु पनि एक प्रकारको कला हो । मैले अहिले चाइनिज भाषा सिक्दै छु । यो भाषा राम्रोसँग सिकेँ भने भविष्यमा मैले धेरै अवसर पाउँछु रे । यो कुरा मेरा गुरुआमाहरूले मलाई भन्नुभएको हो । गुरुआमाहरूको यस्तो कुराले मलाई मेहनत गर्न प्रेरणा मिल्छ । मैले पो चाइनिज भाषा सिक्दै छु, साथीहरूले आपूmलाई मन पर्ने फ्रेन्च, जर्मन, जापानी आदि जुन भाषा सिक्दा पनि राम्रो हुन्छ । 

त्यसैले विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप एकदमै फाइदाजनक हुन्छ । यसले व्यक्तिभित्र रहेको रुचिलाई उजागर गर्छ । शारीरिक र मानसिक अवस्था सधैँ राम्रो राख्छ । पढाइलाई अझ राम्रो बनाउन पनि मद्दत गर्छ । त्यसैले हामी पढाइबाहेक कुनै न कुनै क्रियाकलापमा संलग्न हुन आजै कुनै विधा छनोट गर्ने कि । मैले छनोट गरिसकेकी छु ।