• ११ मंसिर २०८१, मङ्गलबार

मासिँदै सिमसार

blog

प्रत्येक वर्ष अङ्ग्रेजी फेब्रुअरी महिनाको २ तारिख विश्व सिमसार दिवस मनाउने गरिन्छ । सन १९७१ फेब्रुअरी २ तारिखमा इरानको रामसारमा सिससारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि भएको थियो । यसैको वार्षिकोत्सवका रूपमा सिमसार दिवस मनाइन्छ । सिमसार दिवसका अवसरमा संसारभर जनचेतना अभिवृद्धिका लागि विभिन्न गतिविधि गरिन्छ । 

स्थायी रूपमा पानीले ढाकिएको वा वर्षको केही महिना पानीले ढाक्ने छुट्टै पारिस्थितिकी प्रणाली भएको स्थानलाई सिमसार अर्थात् अङ्ग्रेजीमा वेटल्यान्ड भनिन्छ । विगत तीन सय वर्षदेखि यता संसारको नब्बे प्रतिशत सिमसार क्षेत्रको अवस्था बिग्रिएर गएको वैज्ञानिकको अनुमान छ । यस हिसाबले वनजङ्गलको विनाश भन्दा तीन गुणा छिटो सिमसार क्षेत्र हराउँदै गएको छ । विगत ५० वर्षयता मात्र प्राकृतिक सिमसार क्षेत्रको ३५ प्रतिशतभन्दा बढी मासिएर गइसकेको छ ।

यसले जैविक विविधता, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, अनुकूलन, पानीको उपलब्धता, अर्थतन्त्र र अन्य धेरै कुरामा सिमसारको योगदान रहन्छ । तसर्थ, हामीले स्थानीय, राष्ट्रिय तथा विश्वभरि नै बचेका सिमसार संरक्षण गर्न र मासिँदै गएका सिमसार क्षेत्रलाई पुनस्र्थापना गर्न जनचेतना जगाउन जरुरी भइसकेको छ । यो संवेदनशील विषय बारे आममानिसको ध्यान खिच्ने अवसर हो, विश्व सिमसार दिवस । सन् २०२३ को लागि विश्व सिमसार दिवसको नारा रहेको छ : यो समय हो, सिमसार क्षेत्र पुनस्र्थापनाको । तपाईं हाम्रो चाहनाले, आवाजले र कार्यले सिमसार पुनस्र्थापनालाई सुरुआत गर्न सकिन्छ । संयुक्त राष्ट्र सङ्घले निकै महत्त्वका साथ सन् २०२१ देखि २०३० लाई इकोसिस्टम पुनस्र्थापनाका लागि यूएन दशकका रूपमा घोषणा गरेको छ । इकोसिस्टम पुनस्र्थापनामा ठूलो हिस्सा सिमसार पुनस्र्थापनाको हुने भएकाले सिमसार दिवसलाई विशेष महत्व दिन जरुरी छ । 

नेपालमा करिब सात लाख पचास हजार हेक्टर अर्थात् करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । देशभरिमा अति महìवपूर्ण २४२ वटा सिमसार क्षेत्र रहेको छ । जसमध्ये हालसम्म नेपालका दशवटा सिमसार क्षेत्र अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत भएका छन् । नेपालको सिमसार तराईका हिलेधापदेखि हिउँले ढाकिएको उच्च हिमाली तालसम्म पर्छ । सिमसार प्राकृतिक मात्र नभएर मानवनिर्मित पनि हुन सक्छ ।

सिमसार गतिशील, विविधतायुक्त र उर्वर पारिस्थिकीय प्रणाली हो । सिमसारलाई जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले अति मूल्यवान् प्राकृतिक प्रणालीको अंश मानिन्छ । सिमसारले दुर्लभ र विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गरेको हुन्छ । सिमसारले पानीको स्रोत संरक्षण गर्नुका साथै यसको बहाव र गुणस्तर कायम गर्छ । सिमसार क्षेत्रले सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व अभिवृद्धिमा सहयोग पु-याउनेलगायत जैविक विविधताको दिगो व्यवस्थापनमार्फत अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु-याउँछ । सिमसारले जलवायु परिवर्तन तथा भू–विनाशको असर न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचका रूपमा पनि काम गर्छ । सिमसार क्षेत्र वाइल्डलाइफ सफारी र चरा अवलोकनका लागि उत्तम ठाउँ मानिन्छ । सिमसारको पर्यावरणीय, सांस्कृतिक र आर्थिक महìव रहेको छ । नेपालका ग्रामीण समुदाय जीविकाका लागि सिमसारमा निर्भर रहेका हुन्छन् । माझी, जलारी, थारू, मल्लाह जातिका मानिसका लागि सिमसार आयआर्जनको स्रोत हो । त्यसकारण सिमसार क्षेत्रको समूचित संरक्षण, व्यवस्थापन र दिगो उपयोग गर्न अत्यावश्यक भएको छ । 

नेपालका सिमसार विज्ञका रूपमा चिनिएका प्रा.डा. मोहन शिवाकोटीसँगको कुराकानीमा सिमसारको मुख्य तीनवटा महìव रहेको बताउनु हुन्छ । उहाँका अनुसार पहिलो, सिमसारले ‘प्रकृतिको मिर्गौला’ का रूपमा कार्य गर्ने, दोस्रो, सिमसार माछालगायत विभिन्न खाना उपलब्ध गराउने भएकोले ‘जैविक सुपरमार्ट’ जस्तै रहेको र तेस्रो, सिमसारले बाढी नियन्त्रण, खानेपानी भण्डारण गर्ने ‘प्राकृतिक सिभिल इन्जिनियर’ को भूमिका खेल्ने गर्छ । सिमसारसम्बन्धी नेपालमा खासै प्राज्ञिक अध्ययन अनुसन्धान नभएको प्रा.डा. शिवकोटी बताउनु हुन्छ । साथै, जेजति अनुसन्धान भएको छ, त्यो पनि छरिएर रहेको, एकै प्रकृतिका अध्ययन दोहोरिने गरेकाले पनि अनुसन्धानको नतिजालाई कार्यान्वयन ल्याउन सकिएको छैन ।

नेपालको सन्दर्भमा रामसार सन्धिमा सन् १९८८ मा नेपालले हस्ताक्षर गरेको थियो । सन्धिको पक्षधर भएकाले नेपाल सिमसार संरक्षणका लागि कानुनी रूपमा प्रतिबद्ध छ । तथापि, नेपालका सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेर क्रमशः लोप हुँदै छन् । नेपाल सरकारले सिमसारको संरक्षणका लागि राष्ट्रिय सिमसार नीति, २०६९ ल्याएको छ । यो नीतिले दिगो विकास र वातावरणीय सन्तुलनका लागि स्वस्थ सिमसार भन्ने दूरदृष्टि राखेको छ । सिमसार नीतिको लक्ष्य सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन गरी सिमसारजन्य स्रोतको दिगो तथा बुद्धिमत्तापूर्ण उपयोग गर्ने रहेको छ । यो नीतिले राष्ट्रिय सिमसार समिति गठन गरेर काम गर्न दिशानिर्देश गरेको छ । त्यसैगरी जिल्लाको हकमा जिल्ला वन क्षेत्र समन्वय समितिलाई सिमसार संरक्षणसम्बन्धी कार्य गर्न तोकेको छ । 

सिमसार संरक्षण गर्ने जिम्मेवारी बोकेको तालुक निकाय, वन तथा वातावरण मन्त्रालय हो । यस मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष विभागले सिमसार संरक्षणको फोकल संस्थाका रूपमा काम गरिरहेको छ । त्यसैगरी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय ताल संरक्षण विकास समिति सिमसार क्षेत्रको संरक्षण र विकासमा क्रियाशील रहेको छ । समितिले नेपालभरिका नक्सा अध्ययन गरेर नेपालमा तालतलैयाको इन्भेन्टरी प्रतिवेदन प्रकाशित गरेको छ । जसमा नेपालमा तीन हजार मिटर उचाई भन्दामुनि ६२६ वटा तालको विवरण उल्लेख छ । समितिले नापी विभागको सहकार्यमा नेपालका तालतलैया, पोखरीको गणना सम्पन्न गरेको छ । जसअनुसार नेपालमा सानाठूला सबै गरेर पाँच हजार ३५८ वटा ताल, पोखरी रहेका छन् । 

समितिका कार्यकारी निर्देशक सीता शाहीका अनुसार सिमसार संरक्षण कार्यमा चुनौती, अप्ठयारा प्राकृतिक र मानवीय दुवै प्रकारका छन् । तराईका तालमा जलकुम्भीजस्ता मिचाहा प्रजातिका वनस्पतिको समस्या रहेको छ । मानवीय समस्यामा सिमसार क्षेत्रको जग्गा अतिक्रमण, जलप्रदूषण रहेको छ । त्यसैगरी, राष्ट्रिय निकुन्ज, आरक्ष तथा वन क्षेत्र भित्रका सिमसार संरक्षणको अवस्था राम्रो भए पनि, त्यसबाहिरका सिमसार संरक्षणमा बढी समस्या रहेको छ । 

नेपालमा हालको राज्य संयन्त्रमा सङ्घ, प्रदेश र पालिका तीन तह भएकाले सिमसार संरक्षणमा पनि सङ्घीय सरकार, प्रदेश सरकार र पालिका तीनै तहको सक्रिय भूमिका आवश्यक हुन्छ । तीनै तहको सरकारलाई राजनीतिक दलले सञ्चालन गर्छन् । अन्ततः, सिमसार संरक्षणको विषय नेपाली राजनीति नेतृत्वसँग जोडिन्छ । त्यसैले राजनीतिक नेतृत्वले सिमसार संरक्षणलाई कसरी हेर्छ ? राजनीतिक 

दलको के भूमिका र प्रतिबद्धता के रहन्छ भन्ने कुरामा सिमसार संरक्षणको प्रभावकारिता र सफलता धेरै हदसम्म निर्भर गर्छ । 

यद्यपि सिमसार संरक्षणमा सबैभन्दा महìवपूर्ण जनचेतना हो । वन तथा वातावरण मन्त्रालयका सहसचिव तथा रामसार सन्धि मामिला हेर्ने नेपाल सरकारका फोकल पर्सन शिवकुमार वाग्ले जनचेतनामा जोड दिनुपर्ने बताउनु हुन्छ । आमसर्वसाधारणमा जनचेतना वृद्धि भए, जनचासो बढ्छ । बढी जनचासोको विषय दलहरूको एजेन्डाभित्र पर्छ । रेडियो, टेलिभिजन, सामाजिक सञ्जालको सुविधाले जनचेतना जगाउन सजिलो छ । प्रकृति र वातावरणसँग जोडिएको सिमसारजस्तो विषय केही प्राविधिक पनि भएकाले आमसञ्चार माध्यममा जनचेतनामूलक सामग्री कमै आउने गर्छ ।