• १२ मंसिर २०८१, बुधबार

पढाइसँगै गुन्द्री बुन्न व्यस्त सबिना

blog

इस्मा गाउँपालिका–६ बुल्मकी सबिना कुमाल अहिले गुन्द्री बुन्दै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, माघ १९ गते । गुल्मीको इस्मा गाउँपालिका–६ बुल्मकी सबिना कुमाल अहिले गुन्द्री बुन्न व्यस्त हुनहुन्छ । १७ वर्षीया सबिना गाउँमै रहेको विद्यालयमा कक्षा ११ मा पढ्नुहुन्छ । उहाँ विद्यालय बिदाको समयमा आमालाई गुन्द्री बुन्न सघाउनुहुन्छ ।

आमाबाटै गुन्द्री बुन्ने सीप सिक्नुभएकी सबिनाले हिजोआज “निरन्तर रूपमा बुन्दै गए दुई÷तीन घण्टामै गुन्द्रीको चकटी बुनेर सिद्ध्याउन सकिन्छ ।” उहाँले भन्नुभयो,–“घरमा प्रयोगका लागि चाहिने गुन्द्री घरमै बुन्दै आएका छौँ ।”

बुल्ममा अधिकांश कुमाल बस्तीको बसोबास छ । उनीहरूले घरका लागि आवश्यक पर्ने चकटी तथा गुन्द्रीहरू आफै बुन्दै आएका छन् । स्थानीय कमला कुमाल पनि यति बेला गुन्द्री बुन्न व्यस्त हुनुहुन्छ । “चिसोबाट बच्न गुन्द्री अति उपयोगी हुन्छ । बिस्कुन सुकाउन पनि सहज हुन्छ ।” कुमालले भन्नुभयो,–“विवाह, व्रतबन्ध अन्य सामाजिक संस्कारका काम गर्दा पनि गुन्द्री अति उपयोगी मानिन्छ ।” 

गुन्द्री खोज्दै आएकालाई बिक्री समेत गर्ने गरेको कुमालले बताउनुभयो । “एउटा गुन्द्रीलाई पाँच सय पर्छ । यसबाट आम्दानी पनि गर्न सकिन्छ ।” उहाँले भन्नुभयो,–“पछिल्लो समय भने प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले गुन्द्रीको माग घट्दै गएको छ ।” आधुनिकता र सजिलोको नाममा मौलिक संस्कृतिसँग जोडिएका परम्परागत गुन्द्री, चकटी साथै डोका–नाम्लाहरू बुन्ने र प्रयोग गर्ने चलन समेत सङ्कटमा पर्छन् कि भन्ने पीर यहाँका पाका पुस्ताको छ ।

संरक्षण र प्रवर्धनका निम्ति नयाँ पुस्ताले चासो दिनुका साथै पुराना पुस्ताले पनि पुर्ख्यौली सीप हस्तान्तरण गर्न आवश्यक छ । नयाँ पुस्ताले परम्परागत वस्तुहरूको उत्पादनमा ध्यान नदिने हो भने हाम्रा मौलिक परम्परा तथा संस्कृतिको संरक्षण हुन कठिनाइ हुने देखिएको छ ।