काठमाडौँ, माघ १९ गते । अभिभावकीय अन्योल कायम रहँदा नेपालका सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिँदै गएको छ। सिमसार क्षेत्र पानीको स्रोत मात्र नभएर समग्र प्राणीको जनजीविकाको आधार र पारिस्थितिक प्रणालीको जग मानिन्छ। त्यसको पुष्टि नेपालका वन, जल र वन्यजन्तुसँग सम्बन्धित ऐन तथा नीतिले स्वीकार गरे पनि संरक्षणमा अभिभावकत्व ग्रहण गर्ने सवालमा भने एक–अर्कालाई पन्छाउने गरिएको छ।
यस्तै अन्योलका कारण सिमसार क्षेत्रको संरक्षण हुन नसकेको संरक्षण क्षेत्रका प्रमुख स्वीकार गर्छन्। नदी तथा तलाउजन्य सिमसार क्षेत्रको विनाश नरोकिँदा पर्सा राष्ट्रिय निकुञ्जको अवस्था दयनीय बनेको छ। पूर्ण प्राकृतिक तालका रूपमा एउटा मात्र लौकी दह पर्सामा छ। फोहोर प्रदूषण र त्यसको जल सतहको अवस्था जर्जर रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक राम बताउनुहुन्छ।
मानव निर्मित भए पनि अलिक पुरानो हलखोरिया ताल र काली दह अर्को दुईवटा तालको पानी त्यहाँको वन्यजन्तु र संरक्षित क्षेत्रको श्वास लिने आधार हो। भूमिगत जलको तह धसिँदै जाँदा ती तालको पानी पनि बिस्तारै कम हुँदै गएको छ। उहाँले भन्नुभयो, “वर्षाको छ महिनाबाहेक हिउँदको छ महिना हामी ट्याङ्करमा बोकेर वन्यजन्तुलाई पानी खुवाउन बाध्य छौँ।”
अशोक रामका अनुसार ठाउँ–ठाउँमा कृत्रिम पोखरी खनेर हिउँदमा पानी बोकेरै जम्मा गरिन्छ। सिमसारयुक्त मानिने चितवन राष्ट्रिय निकुञ्जका प्राकृतिक सिमसार क्षेत्र जोगाउन पनि घाँसे मैदानका बीचबीचमा कृत्रिम पोखरी खन्ने क्रम जारी छ। वनमारा, माइकेनिया र जलकुम्भीका कारण सिमसार क्षेत्र अतिक्रमणमा पर्ने गरेको छ। सिमसार क्षेत्रका रूपमा परिचित ठूलो नारायणी नदी, राप्ती नदी र रियु खोलामा बढेको मानव अतिक्रमणसँगै प्रदूषणले जलचरमा गहिरो असर पर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो। उहाँले भन्नुभयो, “चुरेको धारबाट भेल आउँदा बनाएका पोखरी पुरिन्छन्, नदीमा माछा मार्ने र फोहोर गर्नाले चितवनको सिमसारमा जोखिम थपिँदै गएको छ।”
राजधानी काठमाडौँलगायतका सहरी क्षेत्रका सिमसार क्षेत्र प्रायः लोप भइसकेका छन्। तथापि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा त्यसको परिपूरणका लागि वर्षाको पानी सङ्कलन गरेर धाप निर्माण थालिएको छ। यसले हिउँदको समयमा बाग्मतीलगायत ठूला नदीमा फोहोरभन्दा जलको स्तर बढी कायम राख्न सघाउने अपेक्षा गरिएको निकुञ्ज प्रमुख लक्ष्मणप्रसाद पौडेल औँल्याउनुहुन्छ। शिवपुरी आसपासका डाँडामा मानव बस्ती बढ्दै जाँदा सिमसार क्षेत्र थप सुक्खा हुने चुनौती बढेको उहाँ बताउनुहुन्छ। सिमसार क्षेत्रको अभाव हुँदा जलचर र वन्यजन्तु मात्र होइन, भविष्यमा यहाँ बस्ने मानिसले स्वच्छ वातावरण र पानी पिउनसमेत नपाउने अवस्था आउन सक्ने दाबी उहाँ गर्नुहुन्छ।
सिमसारले ओतप्रोत कोसीटप्पु वन्यजन्तु आरक्षमा पछिल्लो समय प्रदूषण र जलवायु परिवर्तनको तीव्र असर पर्दै गएको प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताउनुभयो। सो आरक्षको १७५ वर्गकिलोमिटर क्षेत्र नेपालको पहिलो सिमसार क्षेत्रका रूपमा रामसार सूचीमा सूचीकृत भएको थियो।
के हो सिमसार
सिमसार एक गतिशील, विविधतायुक्त उर्वर पारिस्थितिकीय प्रणाली हो। यो जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान् प्राकृतिक प्रणालीको अंश हो। सिमसारले विभिन्न दुर्लभ प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान दिनुका साथै जलस्रोत संरक्षण, बहाव र गुणस्तर कायम राख्छ। मानव जीवनका लागि सिँचाइ, मत्स्यपालन, पर्या–पर्यटन, कृषि उत्पादकत्व बढाउन र जैविक विविधताको दिगो व्यवस्थापन गरेर राष्ट्रिय र स्थानीय अर्थतन्त्रमा योगदान पु-याउन सिमसारले स्रोतका रूपमा काम गरिरहेको हुन्छ। नेपालको करिब सात लाख ५० हजार हेक्टर भूभाग सिमसार क्षेत्रले ओगटेको छ भने नौवटा सिमसार क्षेत्र अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत छन्।
स्वामित्वको विषय अन्योल
नेपालको सिमसार संरक्षणका लागि सिमसार नीति, २०६९ मात्र कार्यान्वयनमा छ। नेपालले रामसार महासन्धि सन् १९७१, जैविक विविधता महासन्धि सन् १९९२, जलवायु परिवर्तन महासन्धि १९९२ को नेपाल पक्ष राष्ट्र हो तर सिमसारको संरक्षणको जिम्मा कसले लिने भन्ने अन्योल कायम रहँदा राम्रो पहल हुन नसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले बताउनुभयो। उहाँले भन्नुभयो, “अहिलेसम्म राष्ट्रियस्तरका योजनामै पारेर सिमसार संरक्षण योजना अघि बढ्नुपर्ने हो तर भएको छैन।”
प्राकृतिक पोखरी मासेर विकासका पूर्वाधार खडा गरिँदै छन्। परियोजना पुगेको क्षेत्रमा कृत्रिम पोखरी बनाउने क्रम पनि बढेको छ। उहाँका अनुसार यस्तो असन्तुलनलाई नियन्त्रण र नियमन गर्न कुनै एक मन्त्रालयले वा संयोजनकारी भूमिकामा काम गर्नुपर्ने देखिन्छ। वन मन्त्रालयले गर्ने कि ऊर्जा तथा सिँचाइ मन्त्रालयले गर्ने वा अन्य विभागीय जिम्मेवारी पाएकाले मात्र गर्ने भन्नेमा एकमत छैन।
सबै मन्त्रालयको कार्यक्षेत्रमा सिमसारलाई पारिएको छ तर निकुञ्ज विभागले वन्यजन्तु संरक्षणका नाममा गरेका केही पहलबाहेक अन्यले ध्यान दिएका छैनन्। सहरी प्रदूषण र अतिक्रमण, गिटी–बालुवाजस्ता प्राकृतिक स्रोत–साधनको तीव्र दोहन र मानवीय जीवनचर्याको अति निर्भरताका कारण सिमसार क्षेत्र मासिँदै गएको कार्कीले बताउनुभयो। यसले प्राकृतिक पर्यावरण, जलचरको प्रजनन र सङ्ख्यामा गम्भीर असर परेको छ।