• ८ वैशाख २०८१, शनिबार

क्यानमा भाँडभैलो, कार्यवाहक सचिव मल्लको राजीनामा

blog

काठमाडौं, माघ १८ गते । नेपाल टी–२० लिग क्रिकेटमा खेल मिलेमतो भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) मा समेत भाँडभैलो मच्चिएको छ । क्यानको मङ्गलबार मात्र पोखरामा नेपाल टी–२० लिग, पूर्व कप्तान सन्दीप लामिछाने प्रकरण, क्यानको साधारण सभा लगायत विषयमा निर्णय गर्न बोर्ड बैठक बसेको थियो । 

बोर्ड बैठककै क्रममा क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिनुभएको छ । नेपाल टी–२० लिगमा विवाद चुलिएको, स्पट फिक्सिङ भएको, समयमै खेलाडीले पैसा नपाएको जस्ता चौतर्फी आलोचना र लिगको असफलताका कारण मल्लले पदबाट राजीनामा दिनुभएको हो । मल्ल नेपाल टी–२० लिग गर्भनिङ काउन्सिका अध्यक्ष हुनुहुन्थ्यो । 

वैठकअघि क्यानका ६ जना सदस्यहरुले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिको राजीनामा माग गरेका थिए । राजीनामा माग गर्ने सदस्यहरुमा ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतारा क्षेत्री, छुम्बी लामा र धर्मराज गिरी हुनुहुन्थ्यो । 

टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हालै पूर्व क्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

सीआईबीले प्रतियोगिताको आयोजना अधिकार पाएको भारतीय कम्पनी ‘सेभेन थ्रीस्पोर्ट्स’ का प्रमुख जतिन अलुवालियासहित १० जना खेल मिलेमतोमा संलग्न गरेको उल्लेख गरेको थियो । क्रिकेटमा देखिएको विवाद र खेल मिलेमतोको घटनालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत छानबिन गरेको छ । राखेपको छानबिन समितिले क्यानलाई विघटन गर्नेसम्मको सुझाव दिइसकेको छ । 

विभिन्न विवादबीच पोखरामा भएको क्यान बोर्ड बैठकले क्यानको साधारण सभादेखि पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवासम्मको निर्णय गरेको छ । सन्दीपलाई क्यानले असोज २३ मा निलम्बन गरेको थियो । सन्दीपविरुद्ध परेको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले अझै टुङ्गो लगाइसकेको छैन । 

बैठकले क्यानको साधारण सभा फागुन १४ र १५ गते सुर्खेतमा गर्ने र साधारण सभापछि जेठमा निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता अप्रिलमा आयोजना गर्नेलगायत निर्णय पनि गरेको छ । 

यसैबीच क्यानले नेपाल टी–२० लिगको कमर्सियल तथा रणनीतिक साझेदारका रुपमा ८ वर्षका लागि वार्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउनेगरी बेचेको भारतीय कम्पनी ‘सेभेन थ्रीस्पोर्ट्स’ ले टी–२० लिगको सम्झौता भङ्ग गरेको जनाएको छ ।  ‘सेभेन थ्रीस्पोर्ट्स’ले  मङ्गलबार क्यानलाई  पत्र पठाउँदै सम्झौता तोडेको जानकारी दिएको हो ।