• ११ मंसिर २०८१, मङ्गलबार

६ महिनामा ४१ सुत्केरीको हेलिकोप्टरबाट उद्दार

blog

नविन सुबेदी

सुर्खेत, माघ १८ गते । नेपाली सेनाले कर्णालीमा चालु आर्थिक वर्षको ६ महिनामा ४१ जना सुत्केरीको हेलिकोप्टरबाट उद्दार गरेको जनाएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर सर्खेतले सुत्केरी महिलाहरूलाई हेलिकोप्टरबाट उद्दार गरेको हो ।

हेडक्वाटरको अर्धवार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्दै मेजर रेनु शाहले गत साउन यता कर्णालीका ९ र सुदूरपश्चिमका ६ जिल्लाका ४१ जना सुत्केरी महिलाहरूलाई हेलिकप्टरमार्फत उद्दार गरिएको जानकारी दिनुभयो ।  

जसमा कर्णालीका छब्बीस र सुदूरपश्चिमका पन्ध्र जना रहनुभएको छ । जसमध्ये कर्णालीका डोल्पाबाट चार, मुगुबाट दुई, दैलेखबाट छ, हुम्लाबाट दुई, रुकुमबाट तिन जना रहनुभएको छ  । यस्तै जुम्लाबाट एक, कालीकोटबाट तिन, जाजरकोटबाट पाँच सुत्केरीको उद्दार गरिएको छ ।

यस्तै नेपाली सेनाले गत असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीमा परी घाइते हुनुभएका १४ जनाको हेलिकोप्टरबाट उद्दार गरेको छ भने १४ हजार ७ सय ३५ केजी राहत सामाग्री हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पु¥याएको छ ।

यस्तै सेनाले सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ को आयोजना गर्न लागेको छ । कर्णालीको पहिचानका रुपमा रहेको लामो दूरीको दौडकोे प्रवद्र्धन र खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि माघ २१ गते उक्त प्रतियोगिता हुन लागेको हो । 

खेलकुद क्षेत्रको विकासमा थप टेवा, विद्यार्थी तथा खेलाडीहरूलाई हौसला प्रदान गर्दै राष्ट्रियता र संस्कृति जगेर्ना गर्ने माध्यमको रुपमा विकास गर्न प्रतियोगिता गर्न लागिएको सेनाले जनाएको छ । करिब एक हजारको सहभागिता रहने प्रतियोगितामा लामो र छोटो दूरीका दौडसहित पैदल यात्रा समावेश गरिएको छ । 

जसमा ५ किलोमिटर पैदल यात्रा, ५ किलोमिटर पुरुष महिला दौड र १० किलोमिटर पुरुष महिला दौड रहेका छन् । प्रतियोगितामा सर्वसाधारणदेखि खेलाडी, कर्मचारी, सुरक्षा निकायका कर्मचारी, विद्यार्थी तथा विभिन्न संघसंस्थाको सहभागिता रहनेछ ।