• १२ मंसिर २०८१, बुधबार

पर्यटकको रोजाइमा पाल्पा दरवार संग्राहलय

blog

पाल्पा दरवार संग्राहलय । तस्बिर : गोरखापत्र

बिन्दु थापा

तानसेन, माघ  १८ गते । रिब्दिकोट गाउँपालिका ७ कि सरस्वती थापा बिगत केहि वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आउनुभएको छ  । काठमाडौंमा बस्न थालेपछि उहाँले ग्रामीण क्षेत्रमा उत्पादित वस्तु तथा पुराना संरचना बिर्सिसक्नुभएको थियो । पाल्पा दरवार संग्रहालयमा ऐतिहासिक सम्पदाहरु देख्दा भने गाउँको सम्झना बिर्साउने गरि मनै लोभ्याएको बताउनुहुन्छ ।

‘‘पाल्पा दरबार संग्रहालयमा अवलोकनका लागि प्रवेश गरेपछि बालापनको सम्झना आयो । बाल्यकालमा डोको नाम्लो, हँसिया, बन्चरो, हलो, जुगा, गाग्री ताउला तथा ऐतिहासिक वस्तुहरुको अवलोकन गर्न पाउँदा खुसी लाग्यो,’’ थापाले बताउनुभयो ।

गाउँ छाडेर सहरमा बस्न थालेपछी ग्रामीण क्षेत्रमा रहेका पुराना वस्तुहरु देख्न मुस्किल भएको हो । बाउबाजेको पालाका सामग्रीहरु देखेर अहिले मनै लोभिन्छ, तस्वीरसमेत खिचेर रमाउन आतुर हुनेहरुमा कमी छैन । पाल्पा दरबार संग्रहालयको प्रदर्शनी कक्षमा यस क्षेत्रको इतिहास र संस्कृति झल्कने विभिन्न सामग्रीहरु राखिएको छ । 


पाल्पा दरबार २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त पाल्पा दरबार निर्माण पूरा भएपछि २०७२ साल मंसिर ३ गते पाल्पा दरबारलाई संग्रहालय स्थापना गर्ने सरकारले निर्णय गरेको थियो । संग्राहलयको विकास भएसँगै मुलुककै पपर्यटकीय गन्तव्यका रुपमा विकास भएको तानसेनका स्थानीय बासिन्दा अनु रायमाझी बताउनुहुन्छ  ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोगमा २०७० सालमा पुरानै शैलीमा पाल्पा दरबारको पुनर्निर्माण सम्पन्न भएको हो  । क्षतिग्रस्त हुनभन्दा अघि सो दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासलगायतका संरचना रहेको थियो ।

पाल्पामा तैनाथवाला प्रतापशमशेर राणा १९८२ सालदेखि १९८९ सालसम्म निर्माण गरिएको संरचना हो, पाल्पा दरबार । प्रतापशमशेर राणाको मृत्युपछि यो दरबार प्रयोगविहीन अवस्थामा रहेको थियो ।बेलायती शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा निर्माण गरिएको पाल्पा दरबार राजा महेन्द्रले विसं २०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याउनुभए थियो ।

पाल्पा दरबार संग्रहालयका कर्मचारी रुमा हिस्कीका अनुसार पाल्पा दरबार संग्रहालयमा देश तथा विदेशबाट पर्यटकहरु अवलोकन गर्न आउने गर्दछन । देशका सबैजसो ठाउँ, छिमेकी देश भारत, अमेरिका, बेलायतका पर्यटक आउने गरेकाछन । संग्राहलयमा गत साउनदेखि पुससम्म २८ हजार पाँच सय ३० पर्यटक आएको तथ्यांक छ ।

पहिला निकै पर्यटकहरु आउने गरेपनि कोरोनाको संक्रमणपछि पर्यटक आगमनमा कमि आएको थियो । तर अहिले पर्यटकको राम्रो उपस्थिति हुन थालेको छ । ऐहिासिक महत्व बोकेको पाल्पा दरबार संग्रहालय हेर्न तथा अबलोकन गर्न देशका लगभग सबै जिल्लाबाट आउने गर्दछन् ।

पाल्पा दरबार संग्रहालयभित्र बीचको तल्लामा जनजाति, थारू, मगर जातिको पहिचान झल्ने भेशभूषा रहेका छन् । माथिल्लो तल्लामा नेपाल अंग्रेज युद्धमा प्रयोग भएका तोप, हातहतियार, नेपाली सैनिकका पोसाकहरु राखिएका छन् । तल्लो तल्लामा पाल्पा आसपासका क्षेत्रका तस्बिर राखिएको छ । 

राणाकालीन समयमा पाल्पा राजनैतिक तथा प्रशासनिक केन्द्रसमेत रहेको थियो । प्रतापशमशेर राणाले स्थापना गरेकोे पाल्पा दरबार, प्रशासनिक कार्यालय, अहिले संग्रहालयका रुपमा विकास गरिएपछि पाल्पा पर्यटकीय आकर्षण केन्द्र बनेको छ । 

तानसेन नगरपालिकाका प्रमुख सन्तोशलाल श्रेष्ठले पाल्पा दरबार पाल्पाको मात्र पहिचान नभई नेपाल मुख्य सम्पदाका रुपमा रहेको बताउनुभयो । दरबारमा रहेको ऐतिहासिक वस्तुले नेपालीपनको झल्को प्रदान गरेकाले पछिल्लो पुस्तामा ज्ञानको  संग्रहालय रहेको उहाँको बुझाइ छ ।

तानसेन नगरपालिका ४ का वडा अध्यक्ष हेमन्तराज शाक्यले विद्यालयका कतिपय विषयको अभ्यास शिक्षण गर्न यो दरबार निकै महत्वपूर्ण संरचनाको रुपमा विकास भएको र यसलाइ संरक्षण गर्दै प्रमुख पर्यटकीय स्थलको रुपमा बनाउन तयारी रहेको  बताउनुभयो ।

ऐतिहासिक वस्तुहरुको पहिचानका लागि देशका विभिन्न क्षेत्रबाट शिक्षक तथा विद्यार्थीको यहाँ घुइँचो लाग्ने गरेको छ । पाल्पा दरबारलाई संग्रहालयका रुपमा विकास गरेपछि पर्यटन आगमनले पाल्पालीलाई पनि थप उत्साहित बनाएको छ ।