• १२ मंसिर २०८१, बुधबार

अवैध सामान बरामद

blog

कावासोती समाचारदाता 

कावासोती, माघ १८ गते । कावासोती नगरपालिका–१६ स्थित पूर्व–पश्चिम राजमार्गमा अवैध रूपमा भन्सार छलेर ल्याएका २२ लाखभन्दा बढीको सामग्री प्रहरीले बरामद गरेको छ। प्रहरीले बिनाबिलको युरिया मल ४०० बोरा बरामद गरेको छ। प्रहरीका अनुसार  लु. २ ख ५७०८ नं. को ट्रकबाट अन्दाजी मूल्य १९ लाख बराबरको विभिन्न सामग्री पनि बरामद गरिएको छ। 

पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु. २ ख ५७०८ नं. को ट्रक चेकजाँच गर्ने क्रममा अवैध सामान भेटिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम) पठाइएको छ।

यसैगरी गैँडाकोट प्रहरीले चोरीनिकासी अवैध काठसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ। गैँडाकोट–४, झपर्दीस्थित सीता रानाभाटको घरबाट २५ क्युफिट सालको चिरान काठसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। निर्माणाधीन अवस्थामा रहेको सीता रानाभाटको आँगनमा त्रिपालले छोपिएको अवस्थामा २५ वटा चिरान काठ बरामद गरिएको जनाइएको छ। 

काठ ओसारपसारमा संलग्न तनहुँ रिसिङ गाउँपालिका ६ का ३५ वर्षका रविन रानाभाट, गैँडाकोट–४ का ३२ वर्षका राजु परियार र बुलिङटार–१ का ३६ वर्षका प्रेमुकुमार डिसुवा मगरलाई नियन्त्रणमा लिइएको उल्लेख छ। 

प्रहरीले बरामद गरेको काठको मूल्याङ्कन एक लाख २५ हजार गरेको छ। बरामद भएको वनपैदावर र पक्राउ परेका तीनै जनालाई अहिले इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएकोमा अहिले आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय गैँडाकोट पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुर सञ्चार शाखाले जनाएको छ।