• ११ मंसिर २०८१, मङ्गलबार

घरभाडा अस्वाभाविक

blog

कालीकोट समाचारदाता

कालीकोट, माघ १८ गते  । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले कार्यालय र कर्मचारीको आवास प्रयोजनका लागि घर भाडामा लिएर अनावश्यक वित्तीय भार थपेको पाइएको छ । 

कार्यालय तथा कर्मचारी आवासका लागि मात्रै वार्षिक ५० लाख रुपैयाँभन्दा धेरै भाडा तिर्दै आएको पाइएको छ । नगरपालिकाले बजारमा १२ वटा घर भाडामा लिएको छ । नगरपालिकासँगै नगरका विभिन्न शाखाका लागि कार्यालय र पहुँचवाला कर्मचारीलाई आवास गरेर १२ वटाभन्दा बढी घर भाडामा लिएर वार्षिक लाखौँ रकम खर्च गर्दै आएको पाइएको हो । 

नगरपालिका प्रशासन शाखा प्रमुख अबिराज शाहीले नगरका सबै १२ देखि १४ शाखा र स्टोरका लागि भनेर १२ वटा घर भाडामा छन् भन्ने सुनेको तर यकिन विवरणसमेत आफूसँग नभएको जानकारी दिनुभयो । 

यद्यपि उहाँले केही वडा कार्यालय र केही प्रहरी चौकीको समेत नगरपालिकाले भाडा तिर्दै आएकाले बजेटको आकार बढेको स्वीकार गर्नुभयो । उहाँले सामान्य घरको पनि भाडा दर अस्वाभाविक देखिएको हुँदा नगरपालिकालाई ठूलो आर्थिक भार परेको बताउनुभयो । 

खाँडाचक्र नगरपालिकाले कार्यालय सञ्चालनका लागि जयबहादुर शाही, रवीन्द्र शाही, रतनबहादुर शाही, वीरेन्द्रबहादुर शाही, मनऋषि आचार्यका घर लिए पनि अरू घर भने कर्मचारीको आवासका लागि भाडामा लिएको पाइएको छ । स्टोर शाखा प्रमुख भक्तिप्रसाद पाण्डेले नगरका सबै वडा कार्यालयको भाडा, प्रहरी चौकी र सामुदायिक स्वास्थ्य एकाइलगायतको भाडा पनि नगरपालिकाले तिर्दै आएको जानकारी दिनुभयो । भाडामा लिइएका घर र तीनको उपयोगको अवस्थाबारे यकिन विवरण उहाँले पनि उपलब्ध गराउन सक्नुभएन । 

वडा न. १, ६ र ९ वडा आफ्नै भवनमा छन् भने अरू वडा भाडामा छन् । केही सामुदायिक स्वास्थ्य एकाइ पनि आफ्नै भवनमा छन् । तर स्टोर शाखाले भने सबै वडाको भाडा तिर्दै आएको दाबी गरेको छ । 

नगरपालिकाका लेखापाल धीरबहादुर शाहीले २०७४ सालमा एक पटक केही घर भाडामा लिएको सम्झौतापत्र भटिए पनि त्यसयताको विवरण आफूलाई जानकारी नभएको भन्दै वार्षिक ४२ लाख रुपियाँभन्दा बढी रकम भाडाबापत भुक्तानी भइरहेको जानकारी दिनुभयो । 

घरभाडामा अनियमितता भएको अशङ्कापछि वडा नं. १ का वडा अध्यक्ष धर्मराज ताम्राकारको संयोजकत्वमा घरभाडा यकिन समिति गठन पनि गरिएको छ । समितिले हालसम्म १४ घर जति यकिन गरेको र बाँकी घर कति भाडामा छन् भनेर खोजी गरिरहेको ताम्राकारले जानकारी दिनुभयो ।