• १२ मंसिर २०८१, बुधबार

किवीको जाम उत्पादन सुरु

blog

खोटाङ समाचारदाता

खोटाङ, माघ १८ गते । खोटाङमा किवीको जाम उत्पादन सुरु गरिएको छ। जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६, नेर्पामा किवीको जाम (खुदो) उत्पादन सुरु गरिएको हो।   

स्थानीय सात जना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर उत्पादन गरेको किवीको जाम दिक्तेल बजार तथा आसपासका क्षेत्रमा बिक्रीसमेत हुँदै आएको छ। परीक्षण चरणमै भए पनि जामले बजार मूल्य राम्रो पाएको उद्योगका सञ्चालक समितिका अध्यक्ष शुभचन्द्र राईले जानकारी दिनुभयो। राईका अनुसार पाँच सय ग्रामको तीन सय रुपियाँ र सात सय ग्रामको चार सय रुपियाँमा बिक्री गर्ने गरिएको छ। 

जाम, जुस, स्क्वास, क्यान्डीलगायत १३ प्रकारका खाद्यान्न उत्पादन गर्नेगरी प्रशोधन उद्योग सञ्चालन गरिएको जनाइएको छ। किवी, केरा, आँप, आल्चा, नासपाती, अम्बा, मेहेललगायतका फलफूलबाट विभिन्न प्रकारका खाद्य पदार्थ उत्पादन गर्नेगरी उद्योग स्थापना गरिएको समितिले जनाएको छ। 

जिल्लामै पहिलो पटक फलफूल प्रशोधन उद्योग स्थापना भएपछि कृषकहरू आफूले उत्पादन गरेका फलफूल खेर नजाने भएको विश्वासमा छन्। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै खोलिएको उद्योगमा जिल्लाका विभिन्न ठाउँमा उत्पादन गरिएका फलफूल सङ्कलन गरेर प्रशोधन गर्ने लक्ष्य राखिएको छ।