• १३ साउन २०८१, आइतबार

लमजुङको दूधपोखरीमा बन्यो मोटरेवल पुल

blog

लमजुङको दूधपोखरी गाउँपालिका ४ र ५ जोड्न कुयाले खोलामा निर्माण गरिएको माटरेवल पुल। तस्बिरः लमजुङ समाचारदाता।

बेलिना थापा

लमजुङ, माघ १७ गते। लमजुङको दूधपोखरी गाउँपालिका ४ र ५ जोड्न कुयाँले खोलामा मोटर गुड्ने पुल निर्माण गरिएको छ।

पुल निर्माण भएपछि दूधपोखरी गाउँपालिका १, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दा लाभान्वित भएका छन्। पुलको सोमबार प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ। गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा पुलका लागि बजेट विनियोजन भएको थियो। 

पुल उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ, संविधान सभा सदस्य एवम् नेकपा (एमाले) केन्द्रीय सदस्य जमिन्द्रमान घले, एमाले केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका निवर्तमान सांसद मायानाथ अधिकारी, एमाले गण्डकी सचिव एवम् गण्डकी प्रदेश निवर्तमान सांसद धनञ्जय दवाडी, जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङलगायतको उपस्थिति थियो।

गण्डकी प्रदेश सरकारले सडक कालोपत्रे गरेको शून्य बिन्दु धमिलिकुवा मध्यपहाडी लोकमार्गबाट १६ किलोमिटरको दूरीमा रहेको छ। डुम्रे–बेंसीसहर सडकको नेपाल डाँडाबाट २१ किलोमिटरको दूरीमा रहेको छ। २० दशमलव ६० मिटरको उक्त पुलको चौडाइ ६ मिटर रहेको छ। दुवैतर्फ गरेर दुई दशमलव चार मिटरको सडक पेटी बनाइएको छ।

बोराङखोला–बिचौर सडक अन्तर्गत पर्ने यो पुल पूर्वाधार विकास कार्यालय लमजुङसँग एमएस कामक्ष–उपमा जेभीले २०७८ असार ८ गते १ वर्षमा सक्ने गरी सम्झौता गरेर निर्माण थालेको थियो। २०७९ असार ७ गतेसम्म सक्नुपर्नेमा उक्त पुल निर्माण कार्य तोकिएको समयमा नसकिएपछि म्याद थप भएको थियो। 

तीन करोड १० लाख ६० हजार १६३ रुपैयाँ अनुमान गरिएको उक्त पुल निर्माणका लागि दुई करोड ११ लाख ३१ हजार १६७ रुपैयाँ खर्च भएको इन्जिनियर दीपक देवकोटाले जानकारी दिनुभयो। पुल निर्माणपछि उक्त क्षेत्रका दुई हजार बढी नागरिकले प्रत्यक्ष सेवा पाएका छन्।