• १२ मंसिर २०८१, बुधबार

पोखराका मुख्य चोकमा पार्किङ निषेध : विकल्प दिन व्यापारीको माग

blog

पोखराको सडक किनारमा जथाभावी पार्किङ गरिएका कार । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, माघ १७ गते। पोखराको मुख्य सडकका चोकमा मोटरसाइकल र गाडी पार्किङ गर्न पोखरा महानगरपालिकाले निषेध गरेको छ। महानगरपालिको निर्णय अनुसार मुख्य सहरी क्षेत्रको सडकमा पार्किङ गर्न पाइने छैन। 

महानगरको निर्णय अनुसार पृथ्वी चोक, सभागृह चोक, न्युरोड, बिपी चोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार र पृथ्वी चोकका सडक किनारमा पार्किङ गर्न पाइने छैन।

महानगरपालिकाको यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले उक्त निर्णय माघ २३ गतेदेखि लागू गर्ने बताएको छ। 

पोखरामा सवारीको चाप वृद्धि भएर आवागमनमा समस्या देखिएपछि पार्किङ निषेध गर्ने निर्णय गरिएको महानगरको भनाइ छ। महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले भन्नुभयो,‘‘जथाभाबी पार्किङले सवारी आवागमनमा मात्र समस्या भएको छैन दुर्घटनासमेत बढाएकाले सो निर्णय गरिएको हो।’’

पार्किङ निषेधित क्षेत्र अधिकांश महानगरको वडा नम्बर ९ मा पर्दछ। यसबारेमा वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले पोखरालाई थप आकर्षक बनाउने योजना अन्तर्गत यो निर्णय भएको जानकारी दिनुभयो। 

विकल्प दिन व्यापारीको माग 

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले  व्यवस्थित र वैकल्पिक व्यवस्था नभएसम्म तत्काल पार्किङ हटाएमा उद्योग व्यवसायीलाई मान्य नहुने बताउनुभयो।

झन्डै ४० वर्षदेखि पोखराको चिप्लेढुंगामा विनायक डिपार्टमेन्ट स्टोर सञ्चालन गर्नुभएका प्रतिशमान पालिखेले समय सापेक्ष पार्किङ व्यवस्थापन गर्न व्यवसायीको पनि सहयोग रहने बताउनुभयो। उहाँले महानगरले पार्किङलाई निषेध गरेर अगाडि बढे व्यवसायी आन्दोलित हुने बताउनुभएको छ। 

पोखरा महानगरले यस अघि सडकमा पार्किङ शुल्क नलिने निर्णय कार्यान्वयनमा भने ल्याइसकेको छ। अन्डर ग्राउन्ड पार्किङ र मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्म्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने पोखरा महानगरले जनाएको छ। तर निजी क्षेत्रबाट सञ्चालन गरिरहेका पार्किङ कम्पनीले मोटर साइकलको प्रतिघण्टा २० र गाडीको ५० रुपैयाँ लिने गरेका छन्। यसको चौतर्फी विरोध भइराखेको छ।