• १२ साउन २०८१, शनिबार

दलबीच सहमति, सहकार्य र एकताको खाँचो छ : वरिष्ठ नेता पौडेल

blog

नेपाल रेडक्रस तनहुँले मङ्गलबार दमौलीमा आयोजना गरेको कार्यक्रममा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेता । तस्बिर: अमरराज नहर्की

अमररराज नहर्की

तनहुँ, माघ १७ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा विकास, स्थायित्व र सुशासन कायम राख्न राजनीतिक दलबीच एकता आवश्यक रहेको बताउनु भएको छ। 

नेपाल रेडक्रस तनहुँले मङ्गलबार दमौलीमा गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। 

दलको विभाजित मानसिकताबाट लोकतन्त्र जकडिएको जनाउँदै उहाँले लोकतन्त्रलाई जोगाएर अगाडि लैजान सहमतिको आवश्यक रहेको बताउनुभयो। राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमति आवश्यक रहेको उहाँको भनाइ छ। 

‘‘हाल राष्ट्रिय सहमति भएन भने हामी कठिन परिस्थितिमा फस्ने अवस्थामा छ नेता पौडेलले भन्नुभयो, ‘‘अर्थतन्त्र खतरनाक अवस्थामा छ त्यसलाई सबैजना मिलेर जोगाउनु पर्छ।’’   

मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको नेता पौडेलले बताउनुभयो। देशको आर्थिक अवस्था, भूराजनीतिक दबाब, सुशासनको कमजोर अवस्थालाई सुधार तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न दलबीच गहिरो एकताको खाँचो रहेको उहाँले बताउनुभयो। 

आफू पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा रहेको जनाउँदै पौडेलले देशलाई अप्ठ्यारो परेको अवस्थामा सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभयो। नेता पौडेलले रेडक्रसले मानव सेवामा पुर्‍याएको योगदान ठूलो रहेको बताउनुभयो। दुई देशबीच भएको लडाइँमा पनि रेडक्रसको झण्डा देखेपछि त्यसलाई सम्मान गर्ने गरिएको नेता पौडेलले सम्झना गर्नुभयो। 

कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित वरिष्ठ नेता पौडेल, तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित शङ्कर भण्डारी, गण्डकी प्रदेश सभा सदस्यद्वय जीतप्रकाश आले, अशोककुमार श्रेष्ठलाई सम्मान तथा स्वागत गरिएको थियो।