• १२ मंसिर २०८१, बुधबार

गर्भवती खोज्दै जनप्रतिनिधि गाउँमा

blog

अर्घाखाँची समाचारदाता

अर्घाखाँची, माघ १७ गते । गर्भवतीको अवस्था तथा स्वास्थ्य परीक्षणका लागि शीतगङ्गा नगरपालिकाको चिकित्सकसहितको टोली गाउँगाउँमा पुगेको छ। स्वास्थ्य परीक्षण गर्न भिडियो एक्स–रे बोकेर घरमै चिकित्सकसहितको स्वास्थ्यकर्मी र जनप्रतिनिधि घरआँगनमा पुग्दा स्थानीय खुसी भएका छन्। 

विभिन्न समयमा जिल्ला बाहिर गएर भिडियो एक्स–रे गुर्नभएकी शीतगङ्गा नगरपालिका–१, सुवर्णखालकी सरस्वती पौडेल छैटौँ पटक घरमै स्वास्थ्यकर्मीसँग स्वास्थ्य जाँच गर्न पाएको मक्ख देखिनुभएको छ। सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने सुनेको अहिले भने आफूले घरआँगनमा निःशुल्क परीक्षण गरेर आवश्यक सरसल्लाह, खाने तरिका सिकाउँदा साँच्चै सिंहदरबार गाउँमा नाराको अनुभूति गर्न पाएको उहाँले बताउनुभयो। 

प्राथमिक स्वास्थ्य केन्द्र ठाडाका डा. शुभेच्छा शर्मा, स्टाफ नर्स सिर्जना घिमिरे र स्वास्थ्यकर्मी दामोदर ढकाल, लक्ष्मण पाण्डेसहितको टोलीमा नगरप्रमुख छविलाल पौडेल, उपप्रमुख गीता भाट, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाललगायतको टोली गाउँटोलमा पुगेको छ। 

वडा नम्बर १ देखि ८ सम्ममा ११० जना गर्भवतीको स्वास्थ्य जाँच गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिनुभयो। गर्भवतीको स्वास्थ्य अवस्था, भिडियो एक्स–रे, फलोअप, पोषणतत्व पाइने खानाबारे सल्लाह दिने गरेको नर्स घिमिरेको भनाइ रहेको छ। नगरका १४ वडाकै गाउँमा पुगेर सबै गर्भवतीको परीक्षण गर्ने गरी बजेट विनियोजन गरिएको नगर उपप्रमुख भाटले बताउनुभयो। यहाँका गर्भवती महिलालाई स्वास्थ्य जाँचका लागि सन्धिखर्क, ठाडा, बुटवल र कपिलवस्तुसम्म पुग्नुपर्ने बाध्यता थियो।