• ८ पुस २०८१, सोमबार

हिरासतबाट फरारमध्ये एक पक्राउ, पाँचजना अझै सम्पर्कविहीन

blog

विजयकुमार साह 

ढल्केबर, माघ १७ गते । धनुषाको क्षीरेश्रनाथ नगरपालिका–५, स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका छ जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरारमध्ये रोशन महतोलाई प्रहरीले पक्राउ गरेको हो । 

महतोलाई सोमबार साँझ यसै जिल्लाको मिथिला नगरपालिका–८, कुसुमबिछौनास्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो । महतोमाथि अवैध हातहतियारको मुद्दा चलिरहेको छ । उनलाई गत बिहीबार प्रहरीले हतियारसहित पक्राउ गरी शनिवार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको थियो । सोही कसुरमा पक्राउ परेका शङ्कर महतोसहित पाँच जना अझै फरार अवस्थामा छन् । उनीहरूको खोजी कार्य तीव्ररूपमा भइरहेको प्रहरीले जानकारी दिएको छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर आइतबार राति ३ बजे छ जना थुनुवा फरार भएका थिए । हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर खोजतलास जारी राखेका छन् । यता, एकसाथ छ जना थुनुवा हिरासतबाटै फरार भएपछि ड्युटीमा खटिएका दुई जना प्रहरीलाई तत्काल निलम्बन गरिएको छ भने घटना सम्बन्धमा अनुसन्धानका लागि  जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै छानबिन समिति बनाएका छन् । 

लागू औषध, हातहतियार, अभद्र व्यवहारका गरी सात जना थुनुवामध्ये छ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए । पुरानो भवनमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोरेर ढोकाको बिँड लिएर पर्खालबाट इँटा झिकेर थुनुवाहरू भागेको प्रहरी प्रवक्ता क्षेत्रीले बताउनुभयो ।