• २३ असार २०८१, आइतबार

गरिबलाई पक्की घर

blog

सर्लाही समाचारदाता 

सर्लाही, माघ १७ गते । मधेश प्रदेश सरकारको लगानीमा सर्लाहीको लालबन्दी नगरपालिकाभित्र अति विपन्न चार परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत महेन्द्रनारायण निधि आवास योजनाबाट सोमबार घर हस्तान्तरण गरिएको हो। 

लालबन्दी–६ का वीरबहादुर क्याप्छाकी, लालबन्दी–७ का बिशे राई, लालबन्दी–९ का शम्भु बलम्पाकी र लालबन्दी–१७ का लक्ष्मी थापाको परिवारले पक्की घर पाउनुभएको हो।  

चार परिवारका लागि दुई कोठाको पक्की घर, भान्छा र शौचालय निर्माण गरिएको प्रदेश सभा सदस्य बेची लुङ्गेलीले जानकारी दिनुभयो। प्रत्येक घरमा चापाकल पनि निर्माण गरिनेछ। चारवटै घरको सोमबार बिहान सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेश सभा सदस्य लुङ्गेलीले उद्घाटन गर्नुभएको हो। एक परिवारका लागि पाँच लाख ५० हजार रुपियाँ लागतमा घर निर्माण पूरा गरी हस्तान्तरण गरिएको हो। 

घर नहुँदा कष्टपूर्ण जीवन निर्वाह गरिरहेका चार परिवारले पक्की घर पाएपछि खुसी भएका छन्। पानी चुहिने झुप्रोमा बस्दै आएका उनीहरूका लागि घर निर्माण गरिदिन प्रदेश सभा सदस्य लुङ्गेलीले पहल गरिदिनुभएको हो। पक्की घर निर्माण भएपछि अत्यन्त खुसी लागेको लालबन्दी–६ का वीरबहादुर क्याप्छाकीले बताउनुभयो। 

महेन्द्रनारायण निधि आवास योजनाअन्तर्गत दोस्रो चरणमा लालबन्दी ५, ६ र १० मा थप तीन परिवारका लागि घर निर्माण गर्न पहल गरिरहेको प्रदेश सभा सदस्य लुङ्गेलीले बताउनुभयो। पहिलो चरणमा चार परिवारका लागि घर निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको प्रदेश सभा सदस्य लुङ्गेलीको भनाइ छ।