• ८ पुस २०८१, सोमबार

धमिरा लाग्यो पुस्तकालयमा

blog

जीवछ यादव 

लहान, माघ १७ गते । लहान नगरपालिका–११, पडरियामा रहेको सिर्जना पुस्तकालयका पुस्तकहरू प्रयोगमा नआएपछि धमिरा लाग्न थालेको छ। मधेश प्रदेशमा रहेका ५९ वटा पुस्तकालयमध्ये सबैभन्दा यो पुस्तकालय व्यवस्थित र सुविधा सम्पन्न छ। सिर्जना पुस्तकालयका अध्यक्ष खडगनारायण चौधरीले यो पुस्तकालयमा पछिल्ला वर्षमा पाठक ह्वात्तै घटेको बताउनुभयो। पठन संस्कृति हराएर पाठक घटेकोमा पुस्तकालयका सञ्चालक चिन्तित भएका छन्। 

चौधरीका अनुसार २०३२ सालमा फुसको घरबाट सुरु भएको यो पुस्तकालय नेपाली, हिन्दी भाषाका पुस्तक, पत्रिका जम्मा गरेर सञ्चालन गरिएको थियो। पुस्तकालयका पुस्तकहरू पढेर नै २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा पडरिया गाउँले ठूलो योगदान गरेको थियो। ‘रिड’ संस्थाको सहयोगमा दुईतल्ले भव्य भवनमा पुस्तकालय रहेको छ। यहाँ राजनीति दर्शन, लोकसेवा आयोगका पुस्तक, विभिन्न जातीय, इतिहास, धर्म, संस्कृतिलगायतका पर्याप्त पुस्तक रहेका छन्। 

सिरहा–१ (क) प्रदेशबाट निर्वाचित प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी भन्नुहुन्छ, “समाजमा जागरणका लागि पुस्तकालय आवश्यक रहेको ठम्याएर पुस्तकालय सञ्चालनमा ल्यायौँ।” अहिले प्रदेश सभा सदस्य, मागैन कामैत गाउँपालिका अध्यक्ष र सरियारकुमारी चौधरी लहान नगरपालिकाको उपप्रमुख हुनुभयो। पुस्तकालयका पुस्तक पढ्दै आफू प्रजातान्त्रिक र वाम आन्दोलनमा सरिक भएको उहाँले बताउनुभयो। 

अहिले अनलाइनमार्फत नै सबै विषयको अध्ययन गर्ने गरिन्छ। युवा पुस्तामा इतिहास, समाज, राजनीतिक, धार्मिक र सांस्कृतिक ज्ञानसम्बन्धी पुस्तक पढ्ने संस्कार घटिरहेको स्थानीय राजेन्द्र साहले बताउनुभयो। उहाँले पुस्तकालयलाई समय सुहाउँदो ई–लाइब्रेरी बनाउनतर्फ अग्रसर हुनुपर्ने तर्क गर्नुभयो। 

पुस्तकालयप्रति आकर्षण जगाउन, पठन संस्कृतिप्रति रुचि जगाउन, क्याम्पस र विद्यालयस्तरीय विविध चेतनामूलक कार्यक्रम आवश्यक देखिएको लहान नगरपालिका उपप्रमुख रामचलितर महतोको भनाइ छ। उहाँले लहान नगरपालिकाको पहिचानको रूपमा रहेको उक्त पुस्तकालय र लहान–७ मा निर्माण भएको विद्यापति भानु वाचनालयलाई शिक्षा क्षेत्रसँग जोड्ने कार्यक्रम ल्याउने विश्वास दिलाउनुभयो। 

लहान नगरपालिकाको ११, १२, १३ र १४ नम्बर वडाका गरिब विपन्न, दलित र मजदुर वर्गका बालबालिकालाई विद्यालय पठाउन चलाएका ट्युसन कक्षा सञ्चालन गरिएको छ। लहान नगरपालिकामा थप ४० वटा ट्युसन कक्षा सञ्चालनमा ल्याउन लागेको उपप्रमुख महतोले जानकारी गराउनुभयो।