वसन्त पराजुली
भरतपुर, माघ १७ गते । खुला सीमा र कमजोर नियन्त्रण व्यवस्थाको फाइदा उठाउँदै अवैध रूपमा भारतबाट कुखुराको मासु, चल्ला र अन्डा भित्रिएपछि स्वदेशी कुखुरापालन व्यवसाय भने सङ्कटमा छ ।
तत्कालीन गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी प्रशासनले केही दिन सीमा क्षेत्रमा कडाइ गरेको भए पनि कुखुराको मासु, चल्ला र अन्डा अवैध रूपमा भित्रिने क्रम फेरि बढेको व्यवसायीले गुनासो गरेका छन् ।
“मन्त्रीको निर्देशनपछि एक/दुई दिन त अवैध आयात ठप्पैजस्तो भएको थियो । अहिले फेरि बिस्तारै खुकुलो हुँदै गएको छ,” नेपाल पोल्ट्री व्यवसायी महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले भन्नुभयो । उहाँले मासु र चल्लाको अवैध आयात ठप्प पार्न प्रहरीको सक्रियता अझै जरुरी रहेको बताउनुभयो ।
गत पुस २८ गते चितवन आउँदा तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले व्यवसायीकै सामु टेलिफोन गरेर नेपाल प्रहरी महानिरीक्षकलाई कुखुराजन्य वस्तुको अवैध आयात रोक्न निर्देशन दिनुभएको थियो । त्यसपछि प्रहरीले अवैध आयात रोक्ने प्रयास गरेको देखिएको थियो तर अहिले फेरि चलखेल सुरु भएको व्यवसायीको गुनासो छ ।
नेपाल कुखुरा व्यवसायी महासङ्घका कार्यकारी निर्देशक शिवप्रसाद बरालले एउटा मन्त्री आएर निर्देशन दिँदा नियन्त्रण हुने तर मन्त्री फेरिँदा समस्या हुने कार्य रोकिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भन्सारबाट अवैध तरिकाले भित्रिने मासु, चल्ला र अन्डा ठाउँको ठाउँ नियन्त्रणमा लिएर नष्ट नगरेसम्म यी गतिविधि नियन्त्रण हुन सक्दैन ।”
कुखुरा व्यवसायीसमेत रहनुभएका चितवन उद्योग सङ्घका अध्यक्ष तिलोचन कँडेलले नीतिगत परिवर्तनबिना अवैध आयात रोक्न नसकिने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “एउटा नीति नै बनाएर अवैध काम रोक्नुपर्छ, कम्तीमा पनि देशैभरका कोल्ड स्टोरमा राखेका मासु कहाँबाट आयो ? त्यसको स्रोत प्रमाणित गराउने काम नियमित हुन सक्यो भने मात्रै पनि अवैध आयात रोकिनेछ ।”
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोख्रेलले कुनै पनि अवैध कार्यको नियन्त्रणमा नेपाल प्रहरीलाई आफ्नो काम गर्न मन्त्री फेरबदलले केही फरक नपर्ने दाबी गर्नुभयो । अहिले पनि भारतबाट भित्रिएको मासु र अन्डा नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाइ गरिएको र केही शङ्कास्पद कोल्ड स्टोरमाथि अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
सामान्य अवस्थामा दैनिक काठमाडौँमा छ लाख केजी र काठमाडौँबाहिर पाँच लाख केजी कुखुराको मासु खपत भइरहेको छ । यसरी खपत भएको मासु आधाभन्दा बढी भारतबाट अवैध रूपमा आयात भएको व्यवसायीको दाबी छ ।
नेपालमै व्यवसायीकरण र आधुनिकीकरण हुँदै गएको तथा आत्मनिर्भर हुने अवस्थामा रहेको कुखुराजन्य व्यवसायमा अहिले एक खर्ब ६० अर्ब रुपियाँ लगानी छ । देशको कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशत लगानी भएको पोल्ट्री व्यवसाय अवैध आयातले थला पर्न थालेको गुनासो व्यवसायीको छ । सामान्य अवस्थामा नेपालमा वार्षिक ३६ लाख ५० हजार पेटी अन्डा र १२ करोड १३ लाख १३ हजार केजी कुखुराको मासु उत्पादन हुने गरेको थियो । अहिले त्यसको तुलनामा अन्डा र मासुको उत्पादन ५० प्रतिशतले कमी आएको व्यवसायी बताउँछन् ।