• ११ कात्तिक २०८२, मङ्गलबार

सिजनकै पहिलो भारी हिमपात

blog

हिउँ परेपछि उद्धार कार्यमा खट्दै सुरक्षा फौज।

यदुप्रसाद भट्ट

मनाङ, कात्तिक ११ गते। मनाङमा यस सिजनकै पहिलो भारी हिमपात भएको छ। सोमबार रातिदेखि भएको हिमपातले तिलिचो, अन्नपूर्ण बेस क्याम्प तथा थोराङ्गालापास गएका पर्यटकलाई समस्या परेको छ।

माथिल्लो मनाङमा एकदेखि तीन फिटसम्म हिमपात भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताउनुभयो। उहाँले दैनिक आन्तरिक तथा बाह्य गरी तीन हजार हाराहारीमा मनाङ घुम्न गएका पर्यटकलाई असर पारेको बताउनुभयो। प्रजिअ पौड्यालले आफू स्वयं उद्धार कार्यमा खटिएको बताउँदै थोरङ्गालापास, लार्केपास, काङ्लापास, तिलिचो, लमजुङ हिमाल, हिमलुङ हिमाललगायतका स्थानमा पदयात्रा गर्नेहरूको उद्धार कार्य भइरहेको जानकारी दिनुभयो।

माथिल्लो मनाङमा हिउँमा फसेकालाई उद्धार गर्न आवश्यक उपकरण, स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी तथा सुरक्षाको थप जनशक्तिसमेत परिचालन गरिएको उहाँले बताउनुभयो। हिमपातमा परी गम्भीर बिरामी भएकाहरूलाई संयुक्त उद्धार टोलीले स्ट्रेचरमा राखेर सुरक्षित स्थानतर्फ ल्याउने काम भइरहेको छ।

यसअघि मङ्गलबारै जिल्ला प्रशासनले जिल्लाभित्र रहेका सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकलाई आफू रहेको स्थानमा सुरक्षित रहन र नयाँ यात्रा वा आरोहणका लागि ननिस्किन आग्रहसमेत गरेको थियो। हालको मौसम अवस्था अत्यन्तै जोखिमपूर्ण भएकाले पर्यटक तथा स्थानीयलाई सावधानी अपनाउन अनुरोध गरिएको थियो। माथिल्लो मनाङमा भारी हिमपात र तल्लो मनाङमा निरन्तर वर्षा भएपछि पदयात्रा र हिमाल आरोहणका कार्यक्रम रोकिएका छन्। 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङ प्रमुख ढकबहादुर भुजेलले पर्यटकको उद्धारमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो। 

विशेष गरी होटल बुकिङ तथा पूर्वसूचना नदिई जाने आन्तरिक पर्यटकलाई यस हिमपातले असर गरेको चामेका स्थानीय होटल व्यवसायी फुर्वा लामाले बताउनुभयो। माथिल्लो मनाङका घरका धुरीभरि हिउँ थुप्रिएको, पर्यटकले प्रयोग गरेका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन हिउँमै पुरिएका छन् भने सदरमुकाम चामेसम्म आवागमन ठप्प भएको छ।