क्वालालम्पुर, कात्तिक ११ गते । मलेसियाको क्वालालम्पुरमा भएको २०औँ पूर्वी एसिया शिखर सम्मेलन (इएएस) का नेताले सोमबार विपद तयारी र प्रतिक्रियामा स्थानीयकरण प्रवर्धन गर्ने ऐतिहासिक वक्तव्य पारित गरेका छन् ।
उक्त वक्तव्यले विपद सामना र लचिलोपन निर्माणका लागि स्थानीय क्षमता र सामुदायिक सशक्तीकरणलाई प्राथमिकता दिन सहभागी देशहरूको साझा प्रतिबद्धता पुनः पुष्टि गरेको छ । मलेसियाको आसियान अध्यक्षतामा पारित वक्तव्यले विश्वव्यापीरूपमा बढ्दो वातावरणीय जोखिम, तीव्र सहरीकरण र सामाजिक-आर्थिक चुनौतीहरूलाई मध्यनजर राख्दै प्रभावकारी क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याएको छ ।
नेताले सन् २००९ को चा-आम हुआ हिन वक्तव्य र सन् २०१४ को द्रुत विपद प्रतिकार्य वक्तव्यसहितका अघिल्ला प्रतिबद्धता स्मरण गर्दै तयारी, प्रतिक्रिया र पुनः प्राप्तिमा स्थानीय सहभागिता बढाउनेमा जोड दिएका छन् । स्थानीय सरकार, समुदाय, निजी क्षेत्र र संस्थाको सक्रिय सहभागिता प्रकोप व्यवस्थापनमा प्रभावकारी संयन्त्र सावित भएको वक्तव्यमा उल्लेख छ ।
आसियानको एएडिएमइआर, ‘वन आसियान, वन रिस्पोन्स’ घोषणा र सेन्डाई फ्रेमवर्क (२०१५-२०३०) जस्ता क्षेत्रीय तथा विश्वव्यापी ढाँचामा पनि स्थानीयकरणलाई प्रमुख सिद्धान्तका रूपमा मान्यता दिइएको छ । इएएस नेताले स्थानीय अग्रिम कार्यलाई सशक्त बनाउने, जोखिम-सूचित लगानीमा जोड दिने र समयमै चेतावनी प्रणाली विकास गर्ने आवश्यकतामा बल दिए ।
विज्ञान र प्रविधिमा आधारित जोखिम मूल्याङ्कन, जिआइएस प्रविधि र एआई-सञ्चालित पूर्वानुमान मोडेलमार्फत समुदायलाईसचेत बनाउने पहललाई पनि प्रोत्साहन गरिएको छ । वक्तव्यले स्थानीय अधिकारी र समुदायलाई आपत्कालीन प्रतिक्रिया, पुनः प्राप्ति र पुनर्निर्माणमा केन्द्रीय भूमिका दिनुपर्नेमा जोड दिएको छ ।
साथै, आसियान, निजी क्षेत्र, शैक्षिक संस्था, गैरसरकारी सङ्गठन र रेडक्रस/रेड क्रिसेन्ट मुभमेन्टबिच सहकार्य सुदृढ पार्न आह्वान गरिएको छ । इएएस सदस्य राष्ट्रहरूले द्रुत निर्णय, समयमै अग्रिम कार्य र वित्तीय संयन्त्र सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् । तिनीहरूले स्थानीय ज्ञान र सांस्कृतिक अभ्यासलाई विपद प्रतिक्रियामा उपयोगी सम्पदा मान्दै पहिलो उत्तरदाताका रूपमा समुदायको भूमिकालाई सम्मान गरेका छन् ।
क्वालालम्पुरमा पारित उक्त वक्तव्यले स्थानीय सशक्तीकरण, सहकार्य र अग्रिम कार्यद्वारा प्रकोप–लचिलो पूर्वी एसिया निर्माण गर्ने साझा दृष्टिकोणलाई पुनः पुष्टि गरेको छ । रासस एएनआई