• ८ वैशाख २०८१, शनिबार

तिलाठीको विकासबारे डा. राउतको चासो

blog

गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलसँग छलफल गर्नुहुँदै प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त राउतसहित नेताहरु । तस्बिर : ललिता साह

ललिता साह 

बोदेबसाईन (सप्तरी), माघ १६ गते । प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त राउत (सीके राउत) ले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको समस्याबारे जानकारी लिनुभएको छ । वसन्तपञ्चमीको अवसरमा प्रत्येक वर्ष आयोजना हुँदैआएको सरस्वती पूजा महोत्सवमा हुनेगरेको कुस्ती प्रतियोगिताको अवलोकनको लागि यहाँ आउनुभएका प्रदेश सांसद सतिशकुमार सिंह समेत आज गाउँपालिका कार्यालय पुग्नुभएको थियो ।  

गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डल लगायत यहाँका युवा तथा बुद्धिजीवीहरूसँग अन्तरक्रिया गर्दै भौतिक पूर्वाधार बाटोघाटो शिक्षा स्वास्थ्य रोजगार र खानेपानीलगायतको क्षेत्रमा हुनुपर्ने विकासमा हुँदैआएको अवरोधको सन्दर्भमा सांसद राउतले चासो देखाउनुभयो । त्यहाँको विकासमा आफूले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

छलफलमा पालिकाका युवा तथा आम नागरिकले दक्ष नेतृत्वकर्ता सम्झेर यहाँका मतदाताले राउतलाई सप्तरी क्षेत्र २ बाट निर्वाचित गराएर पठाएको स्मरण गराउनुभयो । जनमत पार्टी सरकारमा सहभागी हुँदा मधेसका जनताले सांसद राउतलाई गृह मन्त्रालयको जिम्मेवारीमा देख्न चाहेको बताउनुभएको थियो ।