• १२ मंसिर २०८१, बुधबार

प्रयोग भएन मातृभाषाका पाठ्यक्रम

blog

लीलाधर वली 

घोराही, माघ १६ गते । घोराही उपमहानगरपालिकाले थारू भाषामा पाठ्यक्रम निर्माण गरे पनि त्यसलाई प्रयोगमा ल्याउन सकेको छैन । थारू भाषाको पाठ्यक्रम करिब तीन वर्षअघि नै तयार भए पनि पाठ्यपुस्तक बन्न सकेको छैन। 

उपमहानगरपालिकाले थारू भाषाको पाठ्यक्रम तयार गरेको भए पनि हालसम्म पाठ्यपुस्तक तयार नगरेको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले बताउनुभएको छ। 

देश सङ्घीय संरचनामा गएपछि माध्यमिक तहसम्मका शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको छ । यसै अधिकारको प्रयोग गरेर अहिले विभिन्न स्थानीय तहले आ–आफ्नो स्थानीय तहअनुसार पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गर्न थालेका छन् । कतिपय स्थानीय तहले पाठयपुस्तक निर्माण गरेर पढाइसमेत सुरु गरिसकेका छन् ।

“अहिलेसम्म थारू भाषामा पाठ्यपुस्तक तयार भएको छैन,” महाशाखा प्रमुख गौतमले भन्नुभयोे, “अब छिट्टै पाठ्यपुस्तक तयार हुने अवस्थामा रहेको छ।” कक्षा १ देखि ३ सम्म पढाइ सञ्चालन हुनेछ । आउँदो शैक्षिक सत्रदेखि पढाइ सञ्चालन गर्ने तयारीमा भइरहेको प्रमुख गौतम बताउनुहुन्छ। 

यता आर्थिक समस्या भएपछि तुलसीपुरमा पढाइ हुँदै आएको मगर भाषाको पढाइ रोकिएको छ । तुलसीपुर उपमहानगरपालिका–१ भमकेमा रहेको वीरेन्द्र माविमा चार वर्षदेखि पढाइ हुँदै आएको मगर भाषाको पढाइ रोकिएको हो । स्थानीय रूपमा मगर भाषा बोल्ने मातृभाषीलाई ध्यानमा राखेर सुरु गरिएको पढाइ चालू शैक्षिक सत्रदेखि पढाइ स्थगित भएको विद्यालयका शिक्षक हिमाल थापा मगरले जानकारी दिनुभएको छ ।  मगर भाषाको पढाइका लागि तुलसीपुर–१ को वडा कार्यालयले बजेट व्यवस्थापन गर्दै आएको थियो तर चालू आर्थिक वर्षमा बजेट व्यवस्थापन नभएपछि मगर भाषाको पढाइ स्थगित भएको उहाँले बताउनुभयो। पढाइ सञ्चालनका लागि वडा कार्यालयमार्फत हरेक वर्ष दुई लाख ५० हजार बजेट व्यवस्थापन हुँदै आएको थियो ।  नेपालमा मगर समुदायले ढुड, खामपाङ र काइके भाषा बोल्ने गर्छन् । दाङको भमकेमा भने ढुड भाषाको पढाइ हुँदै आएको थियो । पाठ्यक्रम विकास केन्द्रले ढुड, खामपाङ र काइके भाषाका पाठ्यक्रम तथा पुस्तक तयार गरेको छ । 

वडा कार्यालयले उपलब्ध गराएको बजेटबाट पाठ्यपुस्तक खरिद गर्ने तथा शिक्षकलाई तलबको व्यवस्था गरिएको थियो। चालू शैक्षिक सत्रमा विद्यालय प्रशासन, वडा कार्यालय तथा स्थानीय सरकारले चासो नदिँदा मगर भाषा पढाइ स्थगित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकलाल आचार्यले बताउनुभयो।