शान्ता अधिकारी
चितवन, माघ १६ गते । नेपालबाट कुष्ठरोग निवारणको घोषणा भएको १० वर्ष पूरा हुँदा पनि चितवनको भरतपुर महानगरपालिकामा अझै कुष्ठरोगी फेला पर्ने क्रम रोकिएको छैन।
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका अन्य छवटा पालिकामा ज्यादै न्यून बिरामी देखिने गरेको भए पनि महानगरपालिका क्षेत्रको प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा बढीमा यो रोग देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार प्रति १० हजार जनसङ्ख्यामा एक वा त्योभन्दा कम सङ्ख्यामा कुष्ठरोगी भेटिनु यो रोग निवारण भएको भन्ने मानिन्छ। समग्रमा चितवन जिल्लालाई हेर्दा प्रति १० हजार जनसङ्ख्यामा ०.५५ जनामा यो रोग देखिएको मानिन्छ। जब कि नेपालभरको औसत दरभन्दा बढी महानगर क्षेत्रमा प्रति १० हजारमा १.१२ जनामा यो रोग देखिएको छ।
नेपाल सरकारले २०६६/६७ सालमा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो। घोषणा गर्दा झन्डै तीन हजारको सङ्ख्यामा बिरामी भेटिएका थिए। जब कि घोषणा भएको १० वर्ष बित्दै गर्दासमेत दुई हजारभन्दा बढी कुष्ठरोगी फेला पर्ने गरेका छन्। गत आर्थिक वर्ष २०७८/७९ मा मात्र नेपालमा दुई हजार २८५ नयाँ रोगी फेला परेका छन्।
आर्थिक वर्ष २०७८/७९ को यो अवधिमा चितवन जिल्लामा ४९ जना कुष्ठरोगी फेला परेका छन्। यो भनेको प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम अर्थात् शून्य दशमलव ५५ जना (प्रति २० हजारमा एक जना) बराबरजस्तै हो।
७०औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर स्वास्थ्य कार्यालय चितवनले आइतबार सञ्चारकर्मीहरूसँग अन्तत्र्रिmया गरेको छ। अन्तत्र्रिmया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंले देशभर कुष्ठरोग निवारणको घोषणा भएको १० वर्ष बितिसक्दा पनि देशभरका १६ जिल्लामा अझै पनि यो रोगको समस्या रहेको बताउनुभएको थियो। उहाँले चितवन जिल्लाको भरतपुर महानगरपालिका क्षेत्रमा अझै पनि यो रोग निवारण भइनसकेको सन्देश तथ्याङ्कले पुष्टि गरेको उहाँको भनाइ थियो।
जनस्वास्थ्य अधिकृत रामकुमार केसीले २०५१ देखि २०७७ सम्म चितवनमा एक हजार नौ सय कुष्ठरोगीले औषधि सेवन गरेको जानकारी दिनुभयो। कार्यालयले २०७७ सालमा विभिन्न चरणमा औषधि सेवन गरेकाको खोजी गर्दा छ सय बिरामीको पहिचान खुलेको र उनीहरूको सम्पर्क रहेका झन्डै ३० हजार जनसङ्ख्यालाई एक डोज रिफेम्सिन चलाइएको पनि जानकारी दिनुभयो।
कुष्ठरोगीसँग लामो समयसम्म सम्पर्कमा रहेकाहरूलाई लक्षित गरी उनीहरूलाई सङ्क्रमण नहोस् भन्ने उद्देश्यले एक डोज औषधि चलाउने गरिन्छ। उक्त एक डोज औषधिले उनीहरूको शरीरमा सुषुप्त अवस्थामा रहेका कुष्ठरोग गराउने ब्याक्टेरियाहरू नष्ट हुन्छन् भन्ने मान्यता रहिआएको छ।
सन् १८७३ मा नर्वेका वैज्ञानिक जेरार्ड अर्मुएर हेन्सनले यो रोगको कारण पत्ता लगाएका हुन्। आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुको कारण यो रोग लाग्ने गर्दछ। छाला र बाह्य स्नायु प्रणालीमा आक्रमण गर्ने यो रोग समयमा उपचार नभएको खण्डमा मानिसलाई अपाङ्ग र कुरूप बनाउने गर्दछ।