• २९ वैशाख २०८२, सोमबार

भूकम्पले क्षति भएका विद्यालय पुनर्निर्माण

blog

रामेछाप समाचारदाता

रामेछाप, माघ १६ गते । रामेछापको सुनापति गाउँपालिका–१, गुन्सीमा रहेको शतलिङ्गेश्वर माध्यमिक विद्यालयको भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । २०७२ सालको महाभूकम्पले क्षति भएको विद्यालयको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)मार्फत पुनर्निर्माण भएको हो । 

उक्त विद्यालय भवनको शनिबार रामेछापका बागमती प्रदेशका प्रदेश सभा सदस्य युवराज चौलागाईंले उद्घाटन गर्नुभयो । यस्तै जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ टोरकपुरमा रहेको कण्ठेश्वर माध्यमिक विद्यालयको भवन पनि पुनर्निर्माण सम्पन्न भएको छ । 

भूकम्पले क्षति गरेपछि पुनर्निर्माण गरिएको उक्त विद्यालय भवन एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण भएका यी दुईवटासहित रामेछाप जिल्लामा भूकम्पले क्षति भएका ४१४ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको शिक्षा विकास तथा समन्वय एकाइ रामेछाप प्रमुख भरत भट्टराईले बताउनुभयो । 

उहाँले भन्नुभयो, “जिल्लामा भूकम्पले क्षति भएका २७८ वटा विद्यालय विद्यालय व्यवस्थापन समिति, ५१ वटा निर्माण व्यवसायी र ८५ वटा विद्यालय भवनको विभिन्न गैरसरकारी संस्थामार्फत पुनर्निर्माण भई हस्तान्तरण भइसकेका छन् ।” रामेछापमा नेपाल सरकारबाट विद्यालय व्यवस्थापन समितिमार्फत ३६३, नर्वे सरकारको सहयोगमा यूएनओपीएसमार्फत १३, भारत सरकारको आर्थिक सहयोगमा नौ, एसियाली विकास बैङ्कको सहयोगमा १७ र ट्रान्सपरेन्सी इन्टरनेसनल रामेछापसँगको समन्वयमा विद्यालय व्यवस्थापन समितिमार्फत दुईवटा विद्यालय पुनर्निर्माण हुनुपर्नेछ ।