• ८ पुस २०८१, सोमबार

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

blog

सर्लाही समाचारदाता

सर्लाही, माघ १६ गते । सर्लाहीको हरिपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ। नगरप्रमुख गोपाल पञ्जियारले आइतबार वडा नम्बर ३ फरहदवामा पुगेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो। लाभग्राहीको सुविधालाई ध्यानमा राखी नगरप्रमुख पञ्जियारले दुई ज्येष्ठ नागरिकलाई भत्ता दिएर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो। 

हरिपुर नगरपालिका–३ का वडाध्यक्ष लाल मोहम्मद सेखले वडाका झन्डै सात सय लाभग्राहीलाई वडा कार्यालयबाटै भत्ता प्रदान गर्न सुरु गरिएको जानकारी दिनुभयो। चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक भत्ता वितरण कार्यक्रमअन्तर्गत आइतबार पहिलो दिन ज्येष्ठ नागरिकलाई भत्ता गरिएको छ। आइतबार झन्डै पौने तीन सय ज्येष्ठ नागरिक र एकल महिलालाई भत्ता वितरण गरिसकेर सोमबारदेखि अन्य सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडाध्यक्ष सेखले बताउनुभयो। भत्ता वितरणका लागि उपप्रमुख नीलमदेवी राय, वडाका जनप्रतिनिधि तथा एनआईसी एसिया बैङ्क हरिपुर शाखाका कर्मचारी खटिनुभएको छ। 

लाभग्राहीलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउन वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको नगरप्रमुख पञ्जियारले बताउनुभएको छ।