• ८ पुस २०८१, सोमबार

राजमार्गमै कृषि बजार

blog

लहान समाचारदाता

लहान, माघ १६ गते । पूर्व–पश्चिम राजमार्गको किनारामा लाग्ने कृषि हाटबजार सुरिक्षत र व्यवस्थित गर्न गोलबजार नगरपालिकाका किसानले माग गरेका छन्। 

गोलबजार नगरपालिकाका केही वडामा उत्पादन हुने तरकारी बिक्री गर्न बिहानदेखि बेलुुकासम्म सडक किनारमै लाग्ने गरेको हाटबजार अव्यवस्थित र असुरक्षित रहेको भन्दै किसानले विगत वर्षदेखि आवाज उठाइरहे पनि अहिलेसम्म व्यवस्थित हुन सकेको छैन। स्थानीय धर्मनाथ महतोका अनुसार एकाबिहानै पाँच सय किसान आफ्नो तरकारी बिक्री गर्न आइपुग्छन्। यहाँबाट तरकार अन्य जिल्लामा पठाइन्छ। 

यति ठूलो कृषि हाटबजार लाग्ने ठाउँमा शौचालय, तरकारी सुरक्षित राख्न शीतभण्डार र मूल्यसूची आवश्यक भए पनि जनप्रतिनिधिले पटक–पटक गरेको प्रतिबद्धता पूरा गरेका छैनन्। पूर्व–पश्चिम राजमार्ग चार लेन विस्तारको कार्य अगाडि बढ्न लाग्दा बजार व्यवस्थापन कहाँ गर्ने भन्नेबारे नगरपालिकाले अहिलेम्म विश्वसनीय र भरपर्दो व्यवस्थापन नगर्दा किसानका लागि चिन्ताको विषय बनेको छ। 

यो बजारबाट बर्सेनि एक करोड रुपियाँसम्म बट्टी (कर) सङ्कलन भइरहेको छ। तर किसानको सुविधाका लागि व्यवस्थित र सुरक्षित हाटबजार बनाउन नसक्दा राष्ट्रिय राजमार्गको छेउमा तरकारी बेच्नु परिरहेको अर्का किसान रामजी यादव सुनाउनुहुन्छ। उहाँले केही दिनमै राजमार्ग विस्तार कार्य अघि बढ्ने सूचना पाएका किसानले तरकारी कहाँ राखेर बेच्ने भन्ने चिन्ता लिइरहेका बताउनुभयो। पूर्वनगरप्रमुख देवनाथ साहको समयमा धमिनी थानभित्र रहेको जग्गामा पनि भवन निर्माण गरेकाले वरिपरि बजार लाग्ने ठाउँ नै नरहेको उहाँले बताउनुभयो।

हाटबजार हटाउन वैकल्पिक ठाउँका लागि सिरहा–३ का सङ्घीय सांसद लीलानाथ श्रेष्ठ र प्रदेश सभा सदय मनोजकुमार सिंहको उपस्थितिमा कृषि हाटबजार व्यवस्थापनका लागि छलफल भएको थियो। छलफलमा तत्कालै अस्थायी रूपमा समस्या समाधान गरी पछि किसानकै मागअनुसार सुरक्षित र व्यवस्थित हाटबजार लगाउने कार्य अघि बढाइने गोलबजार नगरप्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिनुभयो।

धनगढीमाई, गोलबजार नगरपालिकामा राजमार्गसँगै जोडिएर लाग्ने कृषि हाटबजारको सुरक्षित व्यवस्थापनको आवाज निकै पहिलेदेखि उठे पनि व्यवस्थापन हुन नसकेको जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोले भन्दै यसको व्यवस्थापन छिट्टै गरिने सहमति भएको उहाँले बताउनुभयो।