• ८ वैशाख २०८१, शनिबार

नेपाल टेलिभिजनको ३८औंँ वार्षिकोत्सव

अन्तर सरकारी सञ्चारमाध्यम फुटसलमा नेपाल टेलिभिजन च्याम्पियन

blog

फाइनल खेलमा प्रतिस्पर्धा गर्दै राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनका खेलाडी । तस्बिर : रासस

काठमाडौं, माघ १५ गते । नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवको अवसरमा आइतबार विभिन्न खेलकुदको आयोजना गरिएको छ । जसमा ‘एनटिभी कप–२०७९’ मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जितेको छ । 

शान्तिनगरस्थित फुटसल कोर्टमा भएको  फाइनलमा नेपाल टेलिभिजनले राष्ट्रिय समाचार समिति (रासस)लाई ७–० गोलले हरायो । नेपाल टेलिभिजनको जितमा वासुदेव अवाल र सुशील अधिकारीले दुई/दुई तथा महेश निरौला, दीप बस्नेत र प्रज्ज्वल शाक्यले एक/एक गोल गर्नुभयो ।

चार सरकारी सञ्चारमाध्यमबीच भएको उक्त प्रतियोगितामा गोरखापत्रलाई हराउँदै रेडियो नेपाल तेस्रो भयो । रेडियो नेपालले गोरखापत्रलाई ५–० गोलले पराजित गरेको हो । त्यसअघि भएका खेलमा राससले गोरखापत्रलाई ७–० गोलले तथा नेपाल टेलिभिजनले रेडियो नेपाललाई ६–० गोलले हराएको थियो ।


विजेता खेलाडीलाई नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सव समारोहमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल टेलिभिजन कर्मचारी युनियनका नेता विश्वेश्वर पौडेलले जानकारी दिनुभयो । नेपाल टेलिभिजनको वार्षिकोत्सव यही माघ १७ गते मनाइँदै छ ।

यसैगरी टेबलटेनिसमा पनि चारवटै संस्थानका खेलाडीले प्रतिस्पर्धा गर्नुभएको थियो । टेबलटेनिस खेलमा जम्मा १२ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा आठ पुरुष र चार जना महिला खेलाडीको सहभागिता थियो । 

टेबलटेनिसमा दीपराज बस्नेत नेपाल टेलिभिजन,सुरज तण्डुकार रेडियो नेपाल, कृष्णप्रसाद भण्डारी गोरखापत्र संस्थान, छत्रराज आचार्य रासस, प्रणय पराजुली रासस, प्रज्वल खड्का रेडियो नेपाल, श्याम रिमाल रासस, उमेशहरि आचार्य नेपाल टेलिभिजन, सानु खड्का नेपाल टेलिभिजन, मुना कार्की रासस, शर्मिला ज्ञवाली रासस र अनिता गिरीले नेपाल टेलिभिजनबाट प्रतिस्पर्धा गर्नुभएको थियो ।