• १३ असोज २०८१, आइतबार

सम्झना कप टेबलटेनिसको तयारी पूरा

blog

टेबलटेनिस प्रतियोगिताका लागि सम्झौता गरिँदै ।

काठमाडौं, माघ १५ गते । पाँचौँ संस्करणको सम्झना कप टेबलटेनिस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक ललितपुर टेबलटेनिस क्लबले आइतबार पत्रकार सम्मेलनगरी माघ १७ देखि २१ सम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । 

प्रतियोगितामा नेपालसहित भारतका नौ, बेलायतका दुई तथा फ्रान्स र पोर्चुगलबाट समान एक/एक खेलाडीको सहभागिता रहनेछ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा मेन्स सिङ्गल, वुमेन्स सिङ्गल, मेन्स टिम, वुमेन्स टिम, मेन्स भेट्रान (४० वर्ष माथि), वुमेन्स भेट्रान (४० वर्षमाथि) र मेन्स भेट्रान सिङ्गल (५५ वर्ष माथि) गरी सात विधामा प्रतिस्पर्धा हुनेछ ।

जसमा पुरुषतर्फ दुई सय र महिलामा ५६ खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा मेन्स सिङ्गल तथा वुमन्स सिङ्गलको विजेताले ५० हजार, उपविजेताले २५ हजार तथा सेमिफाइनलबाट बाहिरिने दुई खेलाडीले समान १० हजार रुपियाँ प्राप्त गर्नेछन् । मेन्स टिम तथा वुमेन्स टिमतर्फको विजयीले पनि यही पुरस्कार पाउने आयोजकले जनाएको छ ।
 
भेट्रानतर्फको विजेतालाई २० हजार, उपविजेतालाई १० हजार र सेमिफाइनलबाट बाहिरिने दुई खेलाडीलाई जनही पाँच हजार रुपियाँ प्रदान गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि रहेको छ । 

प्रतियोगितामा डबल हेपिनेसको बोर्डसँगै बल पनि प्रयोग हुनेछ । यसमा लाग्ने सम्पूर्ण खेल सामग्रीको प्रायोजन नेपालका लागि डबल हेपिनेसको आधिकारिक बिक्रेता चाइना ट्रेड लिङ्क लि निङले गर्नेछ । आइतबार नै चाइना ट्रेड लिङ्क प्रालिका प्रबन्ध निर्देशक राजेन महर्जन र क्लबका अध्यक्ष उर्दीप जोशीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।