• ८ वैशाख २०८१, शनिबार

नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थामाथि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री गिरी

blog

आइतबार आयोजित ६१ औं नेपाल नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी ।

काठमाडौं, माघ १५ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ।

आइतबार नेपाल नर्सिङ सङ्घको  ६१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिनुभएको हो। 

उहाँले भन्नुभयो, “नर्सले ८/१० हजारमा काम गर्नुपर्ने स्थिति रहेको भन्ने सुन्नमा आएको छ। यो भन्दा भयावह र कहालिलाग्लो चिन्ताको विषय हो। यस्ता संस्थालाई मन्त्रालयले अनुगमन गरेर तथ्य र प्रमाण जम्मा गरेर नवीकरण गर्ने सम्मको कारबाही गर्छौँ।” 

 उहाँले थप्नुभयो, “नर्सको तलब पेन्सिलले लेखिन्छ भन्ने सुनेको छु, तर अब यस्तो हुँदैन, अब स्वास्थ्य संस्था डिजिटल पेमेन्टमा जानुपर्छ। नर्सको बैङ्क खाता खोलिनुपर्छ।”

नर्सको काँधमा धेरै ठूलो अभिभारा रहेको बताउँदै उहाँले नर्सको वृत्ति विकासका सबै क्षेत्रलाई फराकिलो पार्नका लागि कहाँ के गर्नुपर्छ भन्ने सुझाव लिएर अध्ययन गरेर नर्समैत्री नियम बनाउने प्रतिबद्धता जनाउनुभएको छ। 

उहाँले भन्नुभयो, “मैले मन्त्री नियुक्त भएको पहिलो दिनमै न्यूनतम स्वास्थ्य सेवा मापदण्ड लागू गरिने छ भनेर पहिलो निर्णयमा हस्ताक्षर  गरेको थिएँ। नर्सका समस्या पनि त्यसमा उल्लेख गरिएको छ। त्यसैलाई सहजताका लागि ऐन नियम  बनाउँदै छौँ र आवश्यकता अनुसार जनशक्ति व्यवस्थापन पनि गछौँ।”

नेपाल नर्सिङ सङ्घकी अध्यक्ष मनकुमारी राईले नर्सको पढाई र योग्यता अनुसार तलब नभएको बताउनुभयो।  नेपालमा नर्सलाई एकदमै न्यून पारिश्रमिक भएको उहाँले गुनासो पोख्नुभयो। 

नेपाल नर्सिङ सङ्घकी निवर्तमान अध्यक्ष प्रा.डा. तारा पोखरेलले नर्सलाई पर्याप्त सुविधा दिएर नेपालमै राख्नु पर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, “नेपालका अस्पतालमा नर्सको अभाव छ। बेलायत र क्यानाडाले नेपाली नर्स माग गर्छ। नर्स सबै बाहिर पठाएर नेपालमा के गर्ने ? स्तरीय स्वास्थ्य सेवा पाउन नर्सलाई सुविधा दिएर नेपालमै राख्नुपर्छ।” 

‘ज्येष्ठ नागरिक स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ आइतबार ६१ औँ नेपाल नर्सिङ दिवस मनाएको छ।  


 आइतबार आयोजित ६१ औँ नेपाल नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रम उद्घाटन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।